शियाराम यादव , २६ अगस्ट

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसिसि) कतारको एक प्रतिनिधि मण्डलले कतारस्थित कम्युनिटी पुलिस विभाग का निर्देशक ब्रिगेडियर डा. इब्राहिम मोहम्मद अल–सामिहसँग भेटघाट गरेको छ । सो अवसरमा सह–निरिक्षक अब्दुलअजिज अलमुहन्नादी (सहकार्य तथा साझेदारी शाखा) र अनुसन्धान अधिकृत तारिक मोहम्मद पनि उपस्थित रहनुभएको थियो ।


प्रतिनिधि मण्डललाई एनसिसि कतारका अध्यक्ष पदम गिरीले नेतृत्व गर्नुभएको थियो । मण्डलमा प्रथम उपाध्यक्ष रोशन अर्याल, महासचिव शिव भुजेल, कार्यसमिति सदस्य युवराज पोखरेल तथा एनआरएनए मानार्थ परिषद् सदस्य एवं एनसिसि कतारका पूर्व अध्यक्ष मोहम्मद मुक्तादा मुसलमान सहभागी हुनुहुन्थ्यो ।


भेटका क्रममा कम्युनिटी पुलिस विभागका अधिकारीहरूले नवगठित एनसिसि कतार कार्यसमितिलाई बधाई ज्ञापन गर्दै कतारमा रहेका नेपाली श्रमिकको सुरक्षा र कल्याण सम्बन्धी विभिन्न विषयमा छलफल गर्नुभएको थियो । विशेषगरी नेपाली समुदायबीच सचेतनामूलक कार्यक्रम आयोजना गर्ने, कतारको गृह मन्त्रालयले जारी गर्ने सूचना तथा निर्देशनहरू नेपाली श्रमिकसम्म समयमै पुर्‍याउने तथा यस अभियानमा सहकार्य गर्नेबारे दुवै पक्षबीच सहमति भएको छ ।


यस क्रममा विभाग प्रमुखले एनसिसि कतारलाई आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।भेटघाटको अन्त्यमा अध्यक्ष पदम गिरीले विभागीय उच्च अधिकारीहरूलाई समय दिनुभएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो ।