सिरहा , फागुन ५, लाहान – सिराहा जिल्लाको ऐतिहासिक नगर लाहानस्थित बस्तीपुर माविका प्रधानाध्यापक देवेन्द्र यादवले विद्यालयको दिउँसो खाजासम्बन्धी रिपोर्टिङ्ग गर्न गएका पत्रकार शितल शाहमाथि दुर्व्यवहार गरेको घटनामा आफ्नो गल्ती स्वीकार्दै भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन्।

पत्रकार शाहले इलाका प्रहरी कार्यालय लहानमा प्रधानाध्यापक यादवविरुद्ध उजुरी दिएपछि विद्यालय प्रशासन, शिक्षक, पत्रकार तथा सम्बन्धित निकायबीच छलफल भएको थियो। छलफलका क्रममा प्रधानाध्यापक यादवले पत्रकार शाहसँग भएको घटनाप्रति गल्ती महसुस गर्दै पत्रकारिताको स्वतन्त्रतालाई सम्मान गर्ने बताएका छन्।

सम्बन्धित पक्षबीच व्यापक विचार-विमर्शपछि विद्यालय प्रशासनले पत्रकारहरूको रिपोर्टिङ्ग अधिकार सुनिश्चित गर्ने, रिपोर्टिङ्गका क्रममा कुनै अवरोध नहुने, तथा आवश्यक सूचनाहरू प्राप्त गर्न पत्रकारहरू स्वतन्त्र रहने सहमति भएको छ।

छलफलमा नेपाल पत्रकार महासंघ सिराहा शाखाका पूर्व अध्यक्ष दिनेश्वर प्रसाद गुप्ता, उपाध्यक्ष रोयान्टर मण्डल, सदस्य विनोद मण्डल, पत्रकार रहमुल, ओमप्रसाद यादव, सम्भु चौधरी, मुकेश यादव, आशिष शाह तथा विद्यालयका व्यवस्थापन समिति पदाधिकारीहरू सहभागी थिए।

करिब माघ २४ गतेदेखि चुलिएको विवाद छलफलमार्फत अन्ततः समाधान भएको छ। पत्रकार शाह र प्रधानाध्यापक यादवबीच आपसी समझदारीपछि विषय टुंग्याइएको हो।