सिरहा - सिरहाको विष्णुपुर गाउँपालिका–४ स्थित थलहामा दलित बस्तीको बाटो नै छेकेर मन्दिरमा पर्खाल लगाउने काम भइरहेको पाइएको छ । गाउँमा रहेको दुर्गा मन्दिरमा छेउकै दलित बस्तीको आवागमन नै अवरुद्ध हुने गरी पर्खाल लगाउने काम भइरहेको हो ।
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको ५० लाख बजेटमा पर्यटन विकास कार्यालय, लहानबाट उपभोक्ता समितिमार्फत दुर्गा मन्दिरमा कम्पाउन्ड वाल तथा गेट निर्माण भइरहेको छ । उपभोक्ता समिति अध्यक्ष वीरेन्द्र यादवका अनुसार डेढ सातादेखि यो काम भइरहेको छ ।
दलित बस्ती र मन्दिरको बीचमा फराकिलो बाटो थियो । यही बाटो भएर यस बस्तीका बासिन्दा आउजाउ गर्दै आएका थिए । तर, यो बाटोको बीच भागबाटै निकै साँघुरो हुने गरी ६ फिट जग्गा मात्रै छाडेर मन्दिरको पर्खाल निर्माण गरिँदैछ ।
यस्तै, दुर्गा मन्दिरको पश्चिम छेउतर्फ चौधरी महरा र रामएकवाल महराको घर छ । यो बस्तीको मूल बोटामा जान उनीहरूको घरअगाडिको बाटो हुँदै जानुपर्छ । तर, मन्दिरको पर्खाल हालिएको ठाउँदेखि घरसम्मको जग्गा रामएकवालले नै भोगचलन गर्दै आएका छन् । उक्त जग्गा आफ्नो निजी रहेको उनको दाबी छ ।
मेरो घरअगाडिको जग्गा मेरो निजी हो, सार्वजनिक जग्गामा पर्खाल लगाउने र निजी जग्गाबाट बाटो दिने कुरा भएन, यो त गाउँका अगुवाहरूले आफैं सोच्नुपर्ने हो उनले भने, हामीलाई गरिब दलित भनेर यहाँ हेप्ने काम भएको छ ।
यहाँ १० घर चमार समुदायका परिवार बसोबास गर्छन् । यसमध्ये खासगरी ६ दलित घर–परिवार पूर्ण रूपमा प्रभावित बनेका छन् । मन्दिरको पर्खाल बनिसकेपछि स्थानीय रामशंकर महरा, शिवु महरा, शिवराम महरा, जयनन्द महरा, सञ्जय महरा र बुधराम महराको घरबाट अर्को बाटोमा निस्किने बाटो नै बन्द हुनेछ ।
जेठ १३ मा पर्खाल निर्माणका लागि खाल्डो खन्ने क्रममा त्यहाँका दलित समुदायले रोक्ने प्रयास गरेका थिए । तर, प्रहरी लगाएर आफूहरूलाई रोक्ने काम भएको स्थानीय अरुण महराले बताए ।
यहाँका ठूला भनाउँदाहरूले मनलाग्दी गर्न खोजेपछि हामीले रोक्ने प्रयास गर्यौं, तर प्रहरी बोलाएर जबर्जस्ती खाल्डो खनियो, उनले भने जति गुहारे पनि हामी गरिब दुखियाको कुरा कसैले सुनेन ।
आफूहरूलाई अछुत भनेर हेपेरै मन्दिरमा यसरी पर्खाल लगाउने कार्य भइरहेको स्थानीय कविता महराको दुखेसो छ । हामी दलित त्यसै कमजोर छौं त्यसैले हामीसँग यस्तो गरिँदैछ उनले सुनाइन दलित कमजोर नभएको भए सायद आज यस्तो दिन आउने थिएन ।
पर्खाल लगाउने कामका अगुवामध्येका स्थानीय ७० वर्षीय भोगेन्ऽ साहले दलित परिवारले जथाभावी फोहोर गर्ने गरेकाले पर्खाल लगाएर मन्दिर संरक्षण गर्न लागेको तर्क गरे । वडाध्यक्ष रामबाबु यादवले भने मन्दिरको जग्गा नापनक्सा गरेरै पर्खाल निर्माण भइरहेको बताए ।
त्यहाँ गाउँब्लकको मन्दिरको ६–७ फिट जग्गा रहेको र १२ फिटसम्मको बाटो बन्न सक्ने उनको भनाइ छ । तर, मन्दिरको पश्चिम छेउको बाटोको समस्याका विषयमा भने उनले स्पष्ट जवाफ दिन सकेनन् । बाटो नै ब्लक भयो नि भन्ने प्रश्नमा उनले ‘बिस्तारै समस्या समाधान गर्ने’ बताए ।By:- Kantipur




















