विनोद मण्डल

सिराहा - सिराहा जिल्ला र उदयपुर जिल्लाको साझा बस्तीको रूपमा परिचित साबिक गाउँविकास समिति तरेगिना गोविन्दपुर हाल लाहान नगरपालिकाको वडा नं १६ मा रहेको पूर्वी सिमाना बलान खोला अर्थात् मैनटार पछिमी सिमाना धनगढीमाई १४ को मडयान खोला दक्षिणी सिमाना बर्दमार र उत्तरी सिमाना चुरे ढोले रहेको चार किल्लाको टोल बस्तीहरू काब्रेपानी , नाघभेले, सोली ढुंगा, रुपनी , बरदमार,आरी दमार, रुम्जाटार, खडकिनी दमार, भुमारे,आहाले, ढाडे खोला, तीनतले, सिटुङ्गे, थाकल घारी,पसल टोल,काली दमार, आपटार लगायतका बस्तीहरू समेटिएको ठाउनै भशुवा भमुरे हो । प्राकृतिक दृष्टिकोणले भरिपूर्ण भौगोलिक संरचना बोकेको भशुवामा १४ सय घरधुरीमा करिब ३५ सय जनसंख्या रहेको छ । झिझेरी, गैडे,अर्चले, ढाडे खोला, नाग भेले, अलमले, भसुवा, रुपनी खोला, रहेको यस ठाउँमा कुन्डेलेश्वर महादेव, काभ्रे पानी,राजदेवी, राधाकृष्ण मन्दिर,शिवालय,सलहेस लगायतको धार्मिक स्थलहरू रहेका छन ।

दुई विद्यालयहरु भसुवा आवि र बरदमार प्रावि लगायत रहेका छन ।सामान्य जीवन यापन व्यतीत गर्दै आएका यहाँका आम मानिसहरू खेतीपाती,पशुपालन,वैदेशिक रोजगार गर्दै आएका छन् । अत्यन्त कष्टकर जीवन यापन व्यतीत गर्न विवस यस ठाउँमा खानेपानी,यातायात, स्वास्थ्य लगायतको समस्याहरू रहेको छ । सिराहा जिल्ला र उदयपुर जिल्लाको आ आफ्नै परिभाषित बस्ती भएको यस ठाउँमा लाहान स्थित पूर्व पश्चिम राजमार्गसँग समीप गराउनका लागि नेपालटार र लाहान सडक रहेपनि सडक सुधारको पर्खाइमा रहेको छ ।