काठमाडौँ - आज मार्च २४, विश्वभर अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइँदैछ। क्षयरोगविरुद्ध जनचेतना जगाउने, सहज उपचारको व्यवस्था गर्ने उद्देश्यले यो दिवस मनाइन्छ। यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ तय गरिएको छ। यो दिवसले क्षयरोग महामारी अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास र उपलब्धिलाई सम्झने अवसर पनि दिन्छ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनचेतनामूलक कार्यक्रमको तयारी गरेको छ। नेपालमा यो रोगले हजारौँ मानिसलाई प्रभावित बनाइरहेको छ। केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले जारी विज्ञप्तिमा क्षयरोग विश्वभर लाखौँलाई प्रभावित गर्ने र नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको बताए। सन् २०२३ मा विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा ६८ हजार नयाँ क्षयरोगी थिए, जुन प्रति एक लाख जनसङ्ख्यामा २२९ हो। यस रोगबाट १६ हजारको मृत्यु भएको अनुमान छ, मृत्युदर प्रति एक लाखमा ५४ छ।
सोही अवधिमा राष्ट्रिय क्षयरोग कार्यक्रमले ४०,७७६ क्षयरोगीलाई उपचारका लागि दर्ता गरेको थियो। तीमध्ये ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष थिए। औषधि प्रतिरोधी क्षयरोगी ७५६ जना थिए। दर्ता भएकामध्ये ७२ प्रतिशत फोक्सोको र २८ प्रतिशत अन्य अङ्गको क्षयरोगी थिए। उपचार सफलता दर ९२ प्रतिशत छ। तर, ४० प्रतिशत अनुमानित क्षयरोगीलाई उपचारको दायरामा ल्याउन नसकिएको केन्द्रले जनाएको छ।

















