ललितपुर– सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वन हाम्रो पहिचान, सम्पदा र जीवनशैलीसँग प्रत्यक्ष जोडिएको प्राकृतिक स्रोत भएकोले यसको संरक्षण, प्रवद्र्धन र दिगो व्यवस्थापनका लागि सरकार, सरोकारवाला निकाय, स्थानीय समुदाय तथा प्राविधिक विज्ञहरूबीच समन्वयको आवश्यकता रहेको बताउनु भएको छ ।
उहाँले ललितपुरमा मंगलबार आयोजित नेपाल वन प्राविधिक संघको स्वर्ण महोत्सव समारोहमा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै वन सम्बन्धी नीतिगत सुधार, नवीन प्रविधिको प्रयोग र वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता दिँदै वन क्षेत्रको समृद्धि सुनिश्चित गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताउनु भएको हो । उहाँले ‘हरियो वन नेपालको धन’ भनेर चिनिएको नेपालको ठूला प्राकृतिक स्रोतको केन्द्र वन भएकोले यसमा सबैको समान पहूँच जरुरी रहेको उल्लेख गर्दै नेपालको कूल जमिनको ४६ प्रतिशत ढाकेको वन क्षेत्रलाई कायम राख्दै थप विस्तारमा टेवा पुग्ने योजनाका साथ अघि बढ्नु निर्विकल्प रहेको बताउनुभयो।
‘नेपालको संविधानको निर्देशक सिद्धान्तहरुमा धारा ५१ मा उल्लेखित ‘जनसाधारणमा वातावरणीय स्वच्छता सम्बन्धी चेतना बढाई औद्योगिक एवं भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिमलाई न्यूनिकरण गर्दै वन, वन्यजन्तु, पक्षी, वनस्पति तथा जैविक विविधताको संरक्षण, संवर्धन र दिगो उपयोग गर्ने’ उद्देश्यबाट परिलक्षित छ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘वातावरणीय सन्तुलनका लागि आवश्यक भूभागमा वन क्षेत्र कायम राख्ने उद्देश्य पनि संविधानमा उल्लेख छ । यी उद्देश्य र नीतिहरुलाई कार्यान्वयनमा ल्याउन सबैको भूमिका उत्तिकै महत्वपूर्ण भएपनि नेपाल वन प्राविधिक संघको जिम्मेवारी बढी छ ।’
कार्यक्रममा उहाँले पछिल्लो समय तराई–मधेशमा पानीको सतह तल गएको र पानीको स्रोतहरू सुक्दै गएको अवस्थामा यसलाई रोक्न प्राविधिक संघले गर्न सक्ने कार्यहरूको योजना र रणनीति तर्जुमामा सरकारलाई सुझाब र सल्लाह दिएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । ‘आयमुखी वन व्यवस्थापनका लागि वन उद्यमी तथा सरोकारवालाहरूलाई अभिप्रेरित गर्न आवश्यक छ’ उहाँले भन्नुभयो, ‘वन, वनस्पति र वन्यजन्तुहरूको संरक्षणका लागि प्राविधिक संघले स्वदेश तथा विदेशका सरोकारवालाहरूसँग समन्वय गरेर जैविक विविधता संरक्षण, जलवायु परिवर्तन लगायतका मुद्दालाई अन्तर्राष्ट्रिय जगतमा उठाउन सरकारलाई सहयोग गर्नुपर्दछ।’
उहाँले वन, वनस्पति र वन्यजन्तुहरु आवाजविहीन भएकाले आवाज बनेर यो संघले स्वदेश तथा विदेशका सरोकारवालाहरुबीच नेपाल अनुकूल धारणाहरु अवलम्बन गर्दै जैविक विविधता संरक्षण, जलवायु परिवर्तन लगायतका मुद्दालाई अन्तर्राष्ट्रिय जगतमा उठाउन सरकारलाई थप सहयोग गर्नु पर्ने बताउनुभयो । ‘समयसापेक्ष आफूलाई परिस्कृत गर्दै नवीकरणीय प्राकृतिक स्रोत वनलाई मानवीय/प्राणीजन्य दखल नपुग्ने गरी स्वचालित रुपमा नवीकरण हुने अवस्थामा पुर्याउन संघका सदस्यहरुले आफ्नो ज्ञान, सीप र दक्षता प्रदर्शन गर्न सक्नुपर्दछ ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘यस संघले प्राविधिक विशेषज्ञता अभिवृद्धि गर्दै देशभरका वन प्राविधिकहरूलाई एकताबद्ध गरी सामाजिक, आर्थिक र वातावरणीय हितका लागि निरन्तर प्रयासरत रहन आवश्यक छ ।’
उहाँले देश, विश्व परिवेश तथा अन्तर्राष्ट्रिय मान्यताहरुलाई आत्मसात् गर्दै वन व्यवस्थापनको लक्ष्य हासिल गर्न नेपालको वन–उद्योग क्षेत्रमा दिगो विकासका लागि नीति, सहजीकरण र सहकार्यको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । ‘खासगरी, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली कार्यान्वयनमा आइसकेको अवस्थामा वन क्षेत्रमा उद्यमशीलताको विकास गर्नु आजको आवश्यकता हो ’ उहाँले भन्नुभयो, ‘देशभित्रै स्रोतहरुको पर्याप्तता हुँदाहुँदै काठ र फर्निचरहरुको आयात परिमाणमा वृद्धि तथा नवीकरणीय स्रोतको उपयोगभन्दा पनि आल्मुनियम तथा फलामको आयातमा वृद्धिले वातावरणीय विनाश भईरहेको छ ।’ यो सन्दर्भमा, संघले यसका प्रमुख कारणहरु खोतल्दै गहन अध्ययन/अनुसन्धान मार्फत् सकारात्मक परिणाम आउने गरी पहल गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमको अन्त्यमा उपराष्ट्रपति यादवले स्वर्ण महोत्सवको अवसरमा पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूलाई हार्दिक बधाई दिँदै प्राविधि संघसहित सबैले वनको संरक्षण, प्रवद्र्धन र विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले विमोचित ‘स्वर्ण स्मारिका’लाई नेपाल वन प्राविधिक संघको ऐतिहासिक योगदान, भविष्यका सम्भावना र प्राविधिक ज्ञानको अभिलेख बन्न सक्ने विश्वास व्यक्त गर्दै स्वर्ण महोत्सवको सफलता र संघको उत्तरोत्तर प्रगतिका लागि कामना गर्नुभयो ।




















