सिरहा - धर्म के हो ? धर्म किन मान्ने ? धर्म नमाने के हुन्छ ? नेपालमा केलाई धर्म भनिँदै आएको छ र मानिसको धर्मप्रतिको आस्था कस्तो छ ? आफू अनुकूल धर्म मान्ने वा नमान्ने छुट मान्छेलाई छ कि छैन ? संसारमा मानिसहरूले धर्मलाई कसरी हेर्ने गरेका छन् ? यस्ता गम्भीर र संवेदनशील प्रश्नको उत्तरका लागि घोत्लिने हो भने एउटा विषय मनमा आउँछ मानिसको जीवनलाई नै नरक बनाउने धर्मका बारेमा गम्भीर बहस जरुरी छ ।
भन्न त मानिसले धर्म मानिसलाई अनुशासित बनाई सुमार्गमा हिँडाउन, मानिसको उन्नति र प्रगति गर्न, पाप कर्म गर्नबाट जोगाउन बनाइएको भन्छन् । भगवान्सँग जोडेर मानिसको संरक्षणका लागि धर्म बनेको भनिन्छ । यदि धर्मको यस्तो पवित्र उद्देश्य छ भने किन हिन्दु धर्मले सधैं दलितको मात्र उठीबास लाउँछ ? किन हिन्दु धर्मले दलितको जीवनलाई नारकीय बनाउँदै आएको छ ? हिन्दु धर्म मान्ने अधिकांशले दलित समुदायमाथि धर्मकै नाममा बारम्बार गर्ने विभेद, अन्याय र अत्याचारको समग्र प्रवृति विश्लेषण गर्दा हिन्दु धर्म दलितका लागि बनेको होइन भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।
दलित समुदायले मठ मन्दिरमै सबैभन्दा बढी विभेद भोग्दै आएका छन् । अधिकांश मन्दिरमा अहिले पनि प्रवेश निषेध छ । त्यसो त हिन्दु धर्मको उत्पत्ति र विकास नै विभेद, बहिष्करण र असमानतासँग जोडिएको छ । ऋग्वेदको दसौं मण्डलबाट सुरु भएको ब्राह्मण, क्षेत्री, वैश्य र शुद्रजस्ता चार वर्ण रहेको वर्ण व्यवस्था नै आजको विभेदको जरो हो । उपनिषद्, पुराण र स्मृति हुँदै जात व्यवस्थामा रुपान्तरण भएको यसलाई जंगबहादुर राणाले विसं १९१० को मुलुकी ऐनमार्फत कानुनी रूपमै संस्थागत गरे ।
यसले नेपाली समाजलाई अनन्तकालसम्म अन्धकार र पछौटेपनमा धकेल्ने काम गर्यो । आजको दुनियाँ सूचना, प्रविधि र विज्ञानमा फड्को मारेर कहाँ पुगिसक्यो, नेपाली समाज भने यही वर्ण र जात व्यवस्थालाई काखी च्यापेर बसिरहेको छ । नेपाली समाज ज्ञान, विज्ञान र चेतनामा आधारित भएको हुन्थ्यो भने दलितहरूले यसरी विभेद भोग्न पर्ने थिएन ।
महिला र दलितमाथि हुने विभेदको मूल स्रोत हिन्दु वर्ण र जात व्यवस्था नै हो । ऋग्वेदको दसौं मण्डलमा चार वर्णको कल्पना नगरेको भए समाजमा यसरी श्रेणीगत विभाजन र विभेद हुने थिएन । अहिले महिलाले ४८ दिन मन्दिरमा पूजापाठ गर्न पाउँदैनन् । उनीहरूमाथि छुवाछुत हुन्छ । दलितहरूले ३ सय ६५ दिननै पूजापाठ गर्न पाउँदैनन् । उनीहरूले वर्षभरि नै हरेक कदम, श्रण पलमा विभेद भोग्दै आएका छन् ।
मठ मन्दिर, धारा, भोजभतेर, जन्म, विवाह र मृत्यु संस्कार सबैमा धर्मकै आडमा विभेद हुँदै आएको छ । यसरी मानिसको जीवन नै नारकीय बनाउने धर्मलाई मान्नैपर्छ, अँगाल्नैपर्छ भन्ने केही छ ? के हिन्दु धर्मलाई बहिष्कार गर्ने वा त्यागेर सधैंका लागि भौतिकवादी बन्न सकिँदैन र ?
धर्मका नाममा एकथरीले महास्वर्गको उपभोग गरिरहने र एकथरीले चरम विभेद, अत्याचार, दमन शोषण भोगिरहने हो भने त्यो धर्म असान्दर्भिक हुन्छ, त्याज्य हुन्छ । दलितहरूले हजारौं वर्षदेखि भोग्दै आएको धर्मले थोपरेको विभेद, शोषण र दमनको भारी कहिलेसम्म बोकिरहने ? नारकीय जीवन कहिलेसम्म बाँचिरहने ? सबै कुराको एउटा सीमा हुन्छ । जब धैर्यको बाँध टुट्छ, जब चेतनाको ढोका खुल्छ र मानव मर्यादाप्रतिको मोह बढ्छ, तब क्रान्ति हुन्छ, संघर्ष हुन्छ । अहिले दलितहरू यही चरणमा छन् । यसैले अब हिन्दु धर्म त्यागेर सांस्कृतिक क्रान्ति गर्ने दिशामा दलित समुदाय अग्रसर हुन आवश्यक छ ।
अम्बेडकरले आफ्नो जीवन हिन्दु धर्मशास्त्रको अध्ययन र विश्लेषणमा समर्पित गरे । जातव्यस्थाको जरो हिन्दु वर्ण व्यवस्था भएको पत्ता लगाए । हिन्दु धर्मभित्रको विभेद अन्त्यका लागि जीवनभर संघर्ष गरे । तर कट्टर हिन्दुवादी, विभेदकारी, रुढीवादीहरूसँग उनको केही जोर चलेन । हिन्दुवादीहरू सच्चिन तयार भएनन् । विभेद अन्त्य गर्न तयार भएनन् ।
यसपछि अम्बेडकरले निष्कर्ष निकाले कि हिन्दुधर्ममा बसेर दलित मुक्ति सम्भव छैन । र उनले हिन्दु धर्मलाई सधैंका लागि परित्याग गरी बुद्ध धर्म अँगाले । आजभन्दा करिब सय वर्षअगाडि अम्बेडकरले निकालेका निष्कर्षहरूबाट नेपालका दलितहरूले किन शिक्षा लिन सक्दैनन् ?
पशुपति कोटीहोममा ठूलै तामझामका साथ दलितलाई व्यासासन गराउनेहरू अहिले कहाँ छन् ? धर्ममा कुनै विभेद छैन भन्ने गैरदलितको भाषा बोल्दै स्वर्ग पुगेको अभिव्यक्ति दिने कृष्ण दमाईले यो घटनामा के भन्छन् ? हिन्दु धर्मलाई सुधार गर्न कस्सिएका मित्र परियार र कर्ण विश्वकर्माहरू के भन्छन् ? के धार्मिक समुदायमा दलितमाथि भएको यस्तो अत्याचार हेर्ने आँखा छ ? दलितलाई न्याय दिने चेतना छ ? कि दलितलाई जे गरे पनि हुन्छ भन्दै दमन गरिरहने प्रवृत्ति मात्र छ ? यदि विभेद र दमन गरिरहने हो भने दलितहरूलाई हिन्दु धर्ममा केहीले पनि रोक्न सक्दैन ।
हिन्दु धर्म मान्ने, धर्ममा आस्था राख्ने र धार्मिक गतिविधिमा संलग्न मानिस मन मस्तिष्कमा वर्ण र जात व्यवस्थाको विष बोकेर हिँडिरहेका हुन्छन् र मौका पाउन साथ धर्मकै आवरणमा गरिब, निमुखा, महिला र दलितमाथि डस्छन् । यसैले आम दलित समुदाय हिन्दुधर्मबाट टाढा हुनु नै मुक्तिको सबैभन्दा प्रभावकारी बाटो हुन सक्छ । हुन पनि नेपालको दलित आन्दोलनले धर्मलाई हेर्ने र विश्लेषण गर्ने स्पष्ट दृष्टिकोण तयार गर्न सकेको छैन ।दियौंदेखि हिन्दु धर्मले दलितमाथि विभेद गर्दै आएपछि दलित मुक्तिको विश्व दृष्टिकोणसहित धर्मलाई हेर्ने दृष्टिकोण तयार गर्न आवश्यक छ । दलितहरूले कुनै पनि धर्म नमान्ने बाटो अबलम्वन गर्नुपर्दछ । यदि धर्म नभई हुँदैन भने मानवतावादी, समानतावादी, न्यायपूर्ण, मानवअधिकारमैत्री नयाँ धर्म र संस्कृति निर्माण गर्ने दिशामा लाग्नुपर्छ ।
बाहिर नआए पनि वर्ण र जात व्यवस्थाबाट शिक्षित र दीक्षित ठूलो संख्याका जनप्रतिनिधि दलित समुदायप्रति चरम अनुदार छन् र कुनै न कुनै रुपमा विभेदलाई निरन्तरता दिने पक्षमा छन् । नीति निर्माण गर्ने, कार्यान्वयन गर्ने, अनुगमन मूल्यांकन गर्ने र सारमा देश र जनताको जीवनस्तरमा परिवर्तन ल्याउने ठेक्का लिएका जनप्रतिनिधि नै विभेदलाई प्रश्रय दिन्छन् भने कसरी विभेदरहित समाज बन्छ ? कसरी संविधान र कानुनको पालना हुन्छ ? यसैले अब हामीले निर्क्यौल गर्नुपर्ने भएको छ कि जुन पार्टी नेता वा जनप्रतिनिधिले विभेद गर्छन् उनीहरूलाई कडा कानुनी कारबाही गर्ने र सार्वजनिक रुपमा बहिष्कार गर्ने । साथै हिन्दु धर्म त्यागी वर्ण र जात व्यवस्थाको समूल अन्त्यका लागि संघर्ष गर्ने ।सभार:- कान्तिपुर

















