बैशाख १० र ११ गते सुरुङ्गा नगरपालिका वडा नं. ४ को कार्यालयको आर्थिक सहयोगमा वडा नं. ४ को सभाकक्षमा जन चेतना दलित संगमद्वारा हरवा–चरवाको लगत संकलन, पहिचान तथा परिचयपत्र वितरणका लागि कार्यविधि निर्माण सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ।

 हरवा–चरवाको लगत, पहिचान र परिचयपत्र वितरण सम्बन्धी मस्यौदा कार्यविधि माथि छलफल गर्नुका साथै हरवा–चरवाको पुनर्स्थापना तथा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा उनीहरूको पक्षमा बजेट विनियोजन गराउन जनदबाब सिर्जना गर्नु रहेको जन चेतना दलित संगमका कार्यकारी निर्देशक इन्द्र रामले जानकारी दिनुभयो।

कार्यक्रममा सहभागीहरूले गा.वि.स. रहेको समयमा दलित तथा अन्य लक्षित वर्गहरूको उत्थान र सशक्तीकरणका लागि हरेक वर्ष बजेट विनियोजन हुने गरेको भए पनि संघीय संरचनामा आएपछि स्थानीय तहहरूले यस्ता वर्गका लागि  बजेट छुट्याउन नसकेको गुनासो व्यक्त गरे।

हरवा–चरवाको मुक्तिको घोषणा वि.सं. २०७९ श्रावण २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको भए पनि हालसम्म उनीहरूको प्रभावकारी पुनर्स्थापना हुन नसकेको विषयमा पनि कार्यक्रममा चर्चा गरिएको थियो। स्थानीय तहसँग हरवा–चरवाको यकिन तथ्यांक नभएको कारण मधेश प्रदेश सरकार अन्तर्गत कृषि ज्ञान केन्द्र तथा पशु तथा भेटेरिनरी अस्पतालबाट आउने बजेट वास्तविक लक्षित वर्गसम्म नपुगी अन्य व्यक्तिहरूले उपभोग गरिरहेको केन्द्रीय अध्यक्ष दर्शनलाल मण्डलले बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि सुरुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासले दलित तथा हरवा–चरवा समुदायका बालबालिकालाई शिक्षामा जोड दिनुपर्नेमा जोड दिँदै शिक्षा नै विकासको मुख्य आधार भएको उल्लेख गर्नुभयो। उहाँले नगरपालिकामा हरवा–चरवाको तथ्यांक संकलन, पहिचान तथा परिचयपत्र वितरणका लागि आवश्यक कार्यविधि चाँडै निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

जन चेतना दलित संगमका अध्यक्ष सुमित्रा रामको अध्यक्षतामा सम्पन्न उक्त तालिममा वडा अध्यक्ष देवेन्द्र प्रसाद चौधरी प्रमुख अतिथि रहनुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, कार्यपालिका सदस्य हिराकुमारी चौधरी, दलित महिला सदस्य मानो देवी सदा, अन्य वडा सदस्यहरू, वडा सचिव देवेन्द्र खत्री, मंचका केन्द्रीय अध्यक्ष दर्शनलाल मण्डल, जिल्ला अध्यक्ष देवलाल राम, नगर संयोजक शोभितलाल राम लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी कनकपुर, कदमाहा, मधुपटी र विरनगरका हरवा–चरवा जनसंगठनका अगुवाहरू, नागरिक दैनिकका पत्रकार मणिलाल विश्वकर्मा तथा अन्य सरोकारवालाहरूको सहभागिता सहित कुल ५० जनाको उपस्थिति रहेको थियो।

तालिमको सहजीकरण पत्रकार मणिलाल विश्वकर्मा र इन्द्र रामले संयुक्त रूपमा गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रेमकुमार विश्वकर्माले गर्नुभएको थियो।