ओम प्रकाश यादव लहान, वैशाख १२ । प्रादेशिक अस्पताल लहानले स्वास्थ्य सेवाको विस्तारमा अर्को महत्वपूर्ण फड्को मारेको छ। अस्पतालमा आजदेखि विधिवत रूपमा सिटी स्क्यान (CT Scan) मेसिन जडान कार्य सुरु गरिएको छ। यससँगै अब सिरहा, सप्तरी तथा आसपासका जिल्लाका बिरामीहरूले सिटी स्क्यान गराउन धरान, विराटनगर वा बिर्तामोडसम्म धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ।
अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राम नारायण मेहताको अथक प्रयास, निरन्तर पहल र समन्वयले महत्वपूर्ण भूमिका खेलेको छ। उहाँकै सक्रियतामा लामो समयदेखि अपेक्षित यो सेवा आज मूर्त रूप लिन पुगेको हो। सिटी स्क्यान मेसिन जडान भएसँगै मस्तिष्क, छाती, पेट, हाडजोर्नीलगायत विभिन्न जटिल रोगहरूको छिटो, सहज र सटीक परीक्षण अब लहानमै उपलब्ध हुनेछ। यसले बिरामीको समय, श्रम र आर्थिक भार उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ।
स्थानीयवासी, सेवाग्राही तथा स्वास्थ्यकर्मीहरूले अस्पतालमा सिटी स्क्यान सेवा सुरु हुनु क्षेत्रीय स्वास्थ्य सेवाका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन्। यस सेवाले विशेषगरी आकस्मिक उपचार, दुर्घटनाका बिरामी तथा गम्भीर रोगको समयमै पहिचान र उपचारमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ। प्रादेशिक अस्पताल लहानले पछिल्लो समय स्वास्थ्य पूर्वाधार, उपकरण र विशेषज्ञ सेवाको विस्तार गर्दै क्षेत्रीय स्वास्थ्य सेवाको प्रमुख केन्द्रका रूपमा आफ्नो पहिचान अझ सुदृढ बनाउँदै आएको छ। सिटी स्क्यान सेवा सञ्चालनसँगै अस्पतालले सर्वसुलभ, गुणस्तरीय र आधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
















