वीरगञ्ज । भारतलाई हराउँदै अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

बोर्डर–गावस्कर ट्रफीको पाँचौँ तथा अन्तिम टेस्टमा भारतलाई ६ विकेटले पराजित गरेपछि अस्ट्रेलिया फाइनलमा पुगेको हो ।सिड्नीमा खेलिएको अन्तिम टेस्ट म्याच तीन दिन मात्रै चलेको थियो र यो जितसँगै घरेलु टोली अस्ट्रेलियाले भारतलाई ३–१ ले पराजित गरेको छ ।

तेस्रो दिन ब्याटिङमा आएको भारतीय टोली एक घण्टा पनि खेल्न नसकेपछि बिहान ६ :१५ बजेअघि अलआउट भएको थियो ।अन्तिम टेस्टमा दुवै टोली पहिलो इनिङ्सका आधारमा लगभग बराबरीमा थिए ।

टस जितेर ब्याटिङ रोजेको भारतीय टोली पहिलो इनिङ्समा १८५ रनमा अलआउट भएको थियो भने अस्ट्रेलियाले पहिलो इनिङ्समा १० विकेट गुमाएर १८१ रन बनाएको थियो ।यस आधारमा भारतले चार रनको सानो अग्रता पायो ।

भारतको दोस्रो इनिङ्स १५७ रनमा मात्र सीमित भयो र यसपछि अस्ट्रेलियाले १६२ रनको लक्ष्य पाएको थियो ।भारतले पाँच खेलको सिरिजको पहिलो टेस्ट २९५ रनले जितेको थियो । यस्तै तेस्रो टेस्ट ड्र भयो र बाँकी तीन खेल अस्ट्रेलियाले जित्यो ।

सिड्नीमा भएको जितसँगै अस्ट्रेलियाली टोलीले १० वर्षपछि बोर्डर–गावस्कर ट्रफी जितेको छ ।अब साबिक विजेता अस्ट्रेलियाले आगामी जुन १५ मा दक्षिण अफ्रिकाविरुद्ध उपाधि भिडन्त गर्नेछ । यो खेल इंग्ल्यान्डको लन्डनस्थित लर्ड्स मैदानमा हुनेछ ।