आशिक हुसैन शेख 

दोहा, कतार । नेपालमा आएको बाढीबाट प्रभावित परिवारको राहतका लागि कतारमा कार्यरत नेपालीहरूले २७ हजार कतारी रियाल सहयोग गरेका छन।

कतारको बलदिया ५२ क्याम्पमा बसोबास तथा कार्यरत नेपालीहरूले स्वेच्छिक रूपमा उक्त रकम संकलन गरी नेपाल सरकारको राहत कोषमा पठाएका हुन्।

मोहम्मद जमालुद्दिन खान र सरोज यादवको पहल तथा समन्वयमा संकलन गरिएको २७ हजार कतारी रियाल नेपाली रुपैयाँ ११ लाख १३ हजार ३ सय २७ बराबर रहेको जनाइएको छ।

रसुवामा बाढीका कारण विभिन्न परिवार प्रभावित भएपछि उनीहरूको राहतमा सहयोग पुर्‍याउने उद्देश्यले बालदिया ५२ क्याम्पमा रहेका नेपालीहरूबीच सहयोग संकलन गरिएको थियो। रोजगारीका सिलसिलामा कतारमा रहे पनि मातृभूमिमा आइपरेको विपत्तिमा सहयोग गर्ने उद्देश्यले नेपालीहरू एकजुट भएको बताएका छन्।

रकम संकलन तथा अभियानलाई सफल बनाउन बिमल तिम्सिना, दुर्गा, कौनेन मन्सुर, नाजम खान, दिनेश यादव, विजय यादव, अलाउद्दिन खान, रमेश यादव र युवराज भारती लगायतले साथ, सहयोग तथा समन्वय गरेका थिए।

उल्लेखित व्यक्तिहरू व्यक्तिगत रूपमा सहयोग गर्ने व्यक्तिको सूची नभई बालदिया ५२ क्याम्पका नेपालीहरूबाट रकम संकलन गर्ने अभियानमा साथ दिने तथा सहजीकरण गर्ने व्यक्तिहरू रहेको आयोजकहरूले स्पष्ट पारेका छन्।

संकलित सम्पूर्ण २७ हजार कतारी रियाल नेपाल सरकारको राहत कोषमा पठाइएको बताइएको छ। उक्त रकम बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगमा उपयोग हुने विश्वास गरिएको छ।

विदेशमा रहेर पनि मातृभूमिमा आइपरेको विपत्तिमा सहयोग गर्ने नेपालीहरूको यस पहलले आपसी एकता, भाइचारा र मानवीय सहयोगको भावना प्रस्तुत गरेको छ।

अभियानमा साथ दिने तथा सहयोग गर्ने बालदिया ५२ क्याम्पका सम्पूर्ण नेपाली दाजुभाइहरूप्रति मोहम्मद जमालुद्दिन खान र सरोज यादवले धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

IMG-20260910-WA0006