सिरहा । जेन–जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा भगवानपुरका युवाहरूले गत वर्ष भदौ २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन।
मंगलबार साझ पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत भगवानपुर चौकमा भेला भएका युवाहरूले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। उनीहरूले मृतक युवाहरूले उठाएका सवाल, परिवर्तनको आकांक्षा र सुशासनको मागलाई स्मरणसमेत गरेका छन।
गत वर्ष २०८२ साल भदौ २३ गते सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार, बेथिति, नातावाद, निरंकुशता तथा सुशासनको अभावलगायतका विषयप्रति असन्तुष्टि जनाउँदै जेन–जी पुस्ताका युवाहरू सडकमा उत्रिएका थिए। काठमाडौंसहित देशका विभिन्न स्थानमा फैलिएको आन्दोलनले छोटो समयमै नेपालको राजनीतिक तथा सामाजिक परिस्थितिमा ठूलो प्रभाव पारेको थियो।
आन्दोलनका क्रममा भएको बल प्रयोग तथा त्यसपछिका घटनामा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो। भगवानपुरका युवाहरूले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति सम्मान व्यक्त गर्दै उनीहरूले देखाएको साहस र परिवर्तनको चाहनालाई आगामी दिनमा पनि स्मरण गर्नुपर्ने बताएका छन्।