काठमाडौँ — गत निर्वाचनपछि संकटमा परेका तराई–मधेशकेन्द्रित विभिन्न दल, पूर्वको एउटा मोर्चा र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी मिलेर ‘अग्रगामी मोर्चा’ गठन गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अवधारणापत्रमा हस्ताक्षर गर्दै मोर्चाको औपचारिक घोषणा गरेका हुन्।
अवधारणापत्रमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, डा. चन्द्रकान्त राउतको जनमत पार्टी, प्रभु साहको आम जनता पार्टीलगायत दलहरूले हस्ताक्षर गरेका छन्।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियार, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अंसारी, बहुजन एकता पार्टीका अध्यक्ष डा. हरिनन्दन कुमार रञ्जन र खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष रामकुमार राईले पनि हस्ताक्षर गरेका छन्।

नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणप्रति प्रतिबद्ध रही लोकतान्त्रिक, प्रगतिशील, समाजवादी र समावेशी राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्य मोर्चाको छ।
किन भयो तराई–मधेशकेन्द्रित दल र प्रलोपाबीच मोर्चाबन्दी ?
साथै सत्तामा अत्यधिक केन्द्रीकरण गर्ने प्रवृत्तिको अन्त्य गरी स्वतन्त्रता, समानता, संघीयता, धर्मनिरपेक्षता र मानव अधिकारमा आधारित न्यायपूर्ण समाज निर्माणको लक्ष्य राखिएको अवधारणापत्रमा उल्लेख गरिएको छ।
मोर्चाले मधेशी, आदिवासी जनजाति, थारू, दलित, मुस्लिम, पिछडावर्ग, अपांगता भएका व्यक्ति र लैंगिक तथा यौनिक अल्पसंख्यकसहित सीमान्तकृत समुदायलाई राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।

संविधान संशोधनको आवश्यकतामा जोड दिँदै संविधान २०७२ मा रहेका संरचनागत त्रुटि र अस्पष्टताका कारण संघीयता कार्यान्वयनमा देखिएका चुनौतीहरू सम्बोधन गर्नुपर्ने उल्लेख गरिएको छ।
चुनावमा मिलेर जाने, आन्दोलन मिलेर गर्ने
मोर्चाको नेतृत्व सहमतिका आधारमा वा आवश्यक परे पालैपालो प्रणाली (रोटेसनल लिडरसिप) अपनाई तय गरिने र अधिकांश निर्णय सर्वसम्मतिबाट गरिने अवधारणापत्रमा उल्लेख छ।
सर्वसम्मति नभएमा लोकतान्त्रिक विधि र प्रक्रियाबाट निर्णय गरिनेछ। मोर्चामा आबद्ध हुने दलहरूले आफ्नो स्वतन्त्र राजनीतिक अस्तित्व र संगठनात्मक पहिचान कायम राख्ने प्रावधान पनि राखिएको छ।
निर्वाचनमा साझा रणनीति र आवश्यकताअनुसार संयुक्त सहभागिता, आन्दोलन तथा संघर्षका अभियानहरू संयुक्त रूपमा सञ्चालन गर्ने योजनासमेत मोर्चाले अघि सारेको छ।




















