लहान । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश भएका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि बालकको आफन्त र स्थानियबासीहरुले हुलाकी सडक खण्डमा टायर बालेर प्रदर्शन गरिरहेका छन।
शुक्रबार बेलुकी भगवानपुर गाउँपालिका -१" स्थित प्राथमिक स्वास्थ केन्द्रमा सप्तरीको बलान बिहुल गाउँपालिका २ का  अरुण मण्डलका छोरा रोशन मण्डललाई स्वास्थ्य केन्द्र परिसरमै सर्पले डसेको थियो। त्यसपछि स्वास्थ्य केन्द्रमा प्रभावकारी उपचार हुन नसकेको तथा एम्बुलेन्स उपलब्ध हुँदाहुँदै पनि गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको अनुमतिबिना एम्बुलेन्स लैजान नमिल्ने भन्दै चालकले तत्काल बिरामी नलगेको आरोप स्थानीयको छ।
उपचारमा ढिलाइ भएपछि बालकलाई थप उपचारका लागि सिटी सवारीमार्फत लहानतर्फ लगिएको थियो । तर बाटोमै उनको मृत्यु भएको भगवानपुर गाउँपालिका–४ का वडाध्यक्ष रामकुमार यादवले बताए ।
घटनापछि आक्रोशित स्थानीयले भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन्। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी परिचालन गरिएको थियो।