लहान । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंश भएका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन् ।
सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा रोशन मण्डलको मृत्यू भएको हो । स्थानीयका अनुसार बिरामी आमासँग स्वास्थ्य केन्द्र पुगेका रोशनलाई स्वास्थ्य केन्द्र परिसरमै सर्पले डसेको थियो ।
त्यसपछि स्वास्थ्य केन्द्रमा प्रभावकारी उपचार हुन नसकेको तथा एम्बुलेन्स उपलब्ध हुँदाहुँदै पनि गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको अनुमतिबिना एम्बुलेन्स लैजान नमिल्ने भन्दै चालकले तत्काल बिरामी नलगेको आरोप स्थानीयको छ।
उपचारमा ढिलाइ भएपछि बालकलाई थप उपचारका लागि सिटी सवारीमार्फत लहानतर्फ लगिएको थियो । तर बाटोमै उनको मृत्यु भएको भगवानपुर गाउँपालिका–४ का वडाध्यक्ष रामकुमार यादवले बताए ।
घटनापछि आक्रोशित स्थानीयले भगवानपुर प्राथमिक स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन्। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी परिचालन गरिएको थियो।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । स्वास्थ्य केन्द्रभित्र सर्पले डसेको, उपचारमा ढिलाइ भएको तथा एम्बुलेन्स सञ्चालनसम्बन्धी स्थानीयले लगाएका आरोपबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















