काठमाडौँ, २८ जेठ । प्रतिनिधि सभा निर्वाचनमा ब्यहोरेको अप्रत्याशित पराजयपछि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आक्रामक सांगठनिक रणनीतिमा होमिएका छन्। चुनावमा व्यहोरेको उल्टो धक्काले शिथिल बनेको पार्टी पंक्तिलाई नयाँ जीवन दिन र छरिएका शक्तिलाई एकत्रित गर्न अध्यक्ष यादव अहिले आफैँ भुइँतहको मोर्चामा उत्रिएका हुन्।

केन्द्रको सत्ता राजनीतिको जोडघटाउ छाडेर यादव यतिबेला जिल्ला दौडाहामा निस्किएका छन्। पार्टीको केन्द्रीय समन्वय समितिले तय गरेको देशव्यापी अभियान अन्तर्गत पहिलो चरणमा पश्चिम नेपालका तीन रणनीतिक जिल्लाहरू बर्दिया, बाँके र सुर्खेतको अगुवा कार्यकर्ता भेला उनले भर्खरै सम्पन्न गरेका छन् । जेठ २५ मा बर्दियाको गुलरिया, २६ मा नेपालगञ्ज र २७ मा सुर्खेत पुगेर यादवले कार्यकर्तालाई चुनावी हारबाट निराश नभई नयाँ ढङ्गले सङ्घर्षमा होमिन निर्देशन दिए। पश्चिम नेपालका थारु, मुस्लिम र कर्णालीका सीमान्तकृत समुदायको बाहुल्यता रहेका यी क्षेत्रमा पार्टीको उपस्थिति बलियो बनाउन र कार्यकर्तामा नयाँ ऊर्जा भर्न यो चरण महत्त्वपूर्ण मानिएको छ।

पश्चिमको मोर्चा सम्हालेपछि जसपा नेपालको यो देशव्यापी अभियान अब पार्टीको मुख्य राजनीतिक आधार इलाका मधेस र कोशी प्रदेशतर्फ केन्द्रित हुँदैछ। पार्टी नेतृत्वको यो शीर्ष टोली जेठ ३० गते पर्सा र ३१ गते बाराको अगुवा कार्यकर्ता भेलामा सहभागी हुनेछ।

त्यसपछि आगामी असार १४ गतेसम्म मोरङ, सुनसरी, सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, सिराहा र रौतहटमा जिल्लास्तरीय भेलाहरू लगातार सञ्चालन हुनेछन्।

अध्यक्ष यादवको सचिवालयका अनुसार यी भेलाहरूमा पार्टीका सम्पूर्ण तहका सदस्य, भ्रातृ संगठनका प्रतिनिधि र निर्वाचित जनप्रतिनिधिहरूको अनिवार्य सहभागिता रहनेछ। मधेस प्रदेशका आठ जिल्ला केन्द्रित अबको यो अभियानमा पार्टी अध्यक्ष उपेन्द्र यादवसँगै पार्टीका संरक्षक महन्त ठाकुर लगायत शीर्ष नेताहरु समेत सहभागी हुने बताइएको छ।

यो अभियान केवल चुनावी पराजयको औपचारिक समीक्षामा मात्र सीमित छैन, यसको पछाडि ठोस राजनीतिक उद्देश्य छ,' अध्यक्ष यादवका निजी सचिव महेश चौरसियाले भने, 'चुनावी पराजयको निर्मम समीक्षा, आन्तरिक अन्तर्घात र गुटबन्दी अन्त्य गर्नुका साथै पार्टीपंक्तिलाई एकत्रित गर्दै गुमेको साख र प्रतिष्ठा फर्काउनु यसको पहिलो सर्त हो।'

शीर्ष नेतृत्व आफैं गाउँगाउँ पुगेर कार्यकर्ताको गुनासो सुन्ने र संगठनलाई एकत्रित गर्ने यो प्रयासले जसपा नेपाललाई राष्ट्रिय राजनीतिमा पुनः एक सशक्त र वैकल्पिक शक्तिको रूपमा उभ्याउने लक्ष्य रहेको निजी सचिव चौरसियाले स्पष्ट पारे।

पहिचान र सामाजिक न्यायको मुद्दालाई केन्द्रमा राखेर सुरु भएको जसपा नेपालको देशब्यापी यो अभियानले जिल्ला तहका कार्यकर्तामा नयाँ उर्जा र उत्साह थप्ने अपेक्षा गरिएको छ । मधेस जनविद्रोह, सङ्घीयता र समानुपातिक समावेशिताको आन्दोलनबाट जन्मिएको शक्ति जसपा नेपाल पछिल्ला वर्षहरूमा नीति र एजेन्डाभन्दा बढी सत्ताको केन्द्रिकृत राजनीतिमा अल्झिदाँ निरन्तरको फुट र भुइँतहका एजेन्डाबाट नेतृत्व टाढिँदै जाँदा पार्टीले आफ्नो मूल आधारभूमिमै ठूलो धक्का खानु परेको थियो।

गत प्रतिनिधि सभाको चुनावमा जसपा नेपालले प्रत्यक्षतर्फ सून्य सीटमा पराजय व्यहोरेको थियो।