धनुषा, जेठ २५ गते। विश्व वातावरण दिवसको अवसरमा धनुषाको शहीद नगरपालिका–स्थित श्री जनता इकाई माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण तथा कार्बन उत्सर्जन न्यूनीकरण गर्ने उद्देश्यले विद्यालय परिसरमा विभिन्न प्रजातिका एक सय विरुवा रोपिएका छन्।
JOA को आर्थिक सहयोग तथा ह्याविटयाट नेपालको साझेदारीमा सहारा नेपालद्वारा सञ्चालित होम्स नेपाल परियोजना अन्तर्गत शहीद नगरपालिका, जिल्ला वन कार्यालय धनुषा, जीवन विकास लघुवित्त वित्तीय संस्था, फरवार्ड लघुवित्त वित्तीय संस्था, थ्रीजिरो क्लब तथा श्री जनता इकाई माध्यमिक विद्यालयको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।
सहारा नेपालका धनुषा जिल्ला संयोजक राममनोहर मोचीका अनुसार विद्यालय परिसरलाई हरियाली र वातावरणमैत्री बनाउने उद्देश्यले विभिन्न जातका विरुवा रोपिएको हो। विद्यालयका कृषि संकाय संयोजक तथा कृषि प्रशिक्षक जितेन्द्र मण्डल र सहारा नेपालका उदयपुर जिल्ला अधिकृत सोमा कोइरालाको प्राविधिक सहयोगमा कृषि संकायमा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।
वृक्षारोपणपछि आयोजित अन्तरक्रिया कार्यक्रममा सहारा नेपालकी युवा तथा सरोकारवाला अधिकृत विमला गुरुङले पछिल्लो समय बढ्दो कार्बन उत्सर्जनका कारण वातावरणीय चुनौती थपिएको उल्लेख गर्दै वृक्षारोपणले वातावरण संरक्षण तथा संवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक प्रदीप साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शहीद नगरपालिकाकी उपप्रमुख सुनिता महतो प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै वृक्षारोपण मानव जीवन र भावी पुस्ताको कल्याणसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण कार्य भएको बताउनुभयो । साथै, रोपिएका विरुवाको संरक्षण र संवर्द्धन गर्न विद्यालय परिवारलाई आग्रह गर्नुभयो।
सहारा नेपालका सिरहा जिल्ला अधिकृत रामभरोसी महतोले सञ्चालन गर्नुभएको अन्तरक्रियामा ह्याविटयाट नेपालका माधव चौरेलले होम्स नेपाल परियोजना तथा संस्थाका गतिविधिबारे जानकारी गराउनुभएको थियो।
सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रममा सहभागी जीवन विकास लघुवित्त वित्तीय संस्थाले विद्यालयलाई फोहोर व्यवस्थापनका लागि एक थान बकेट तथा फरवार्ड लघुवित्त वित्तीय संस्थाले १० थान झाडु हस्तान्तरण गरेका थिए।
वातावरण संरक्षणप्रति विद्यार्थी र समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले हरित वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।




















