सिरहा, २१ जेठ। व्यवहारमै छुवाछुत जस्तो कुप्रथाको अन्त्य हुनुपर्ने सिरहाका दलित अगुवाहरुले जोड दिएका छन। विहिबार दलित विकास मञ्चले गोलबजारमा आयोजना गरेको ‘मधेशी दलित समुदायले भोग्नु परेको समस्याहरु र समाधानकालागि सरकोकारबालाको भुमिका’ विषयक अन्तर–सम्वाद कार्यक्रमका सहभागीहरुले २१ वर्ष अघि मुलुक कानुनीरुपले छुवाछुत मुक्त राष्ट्र घोषणा भएपनि दलितहरुले दैनिक रुपमा त्यसको पीडा सहनु परेको भन्दै अव व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने बताएका हुन्।
कागजमा सिमित कानुन सहि कार्यान्वयन गर्नुपर्नेमा उनीहरुको जोड रहेको छ। सरकारले कानुन भनाए पनि पीडितहरु सधैं आर्थिक, सामाजिक र राजनीतिक दवाव तथा प्रभावका कारण न्यायबाट बञ्चित हुनुपरेको उनीहरुको भनाई छ।
देशमा राजनीतिक रुपले धेरैपटक व्यवस्था परिवर्तन भए, सरकार फेरीए तर दलितहरुले आज पनि जात कै कारण विभेद खेप्नु परेको छ। अव यहि अवस्था धेरैदिन जान नसक्ने उनीहरुले बताए। ‘अव सधैभरी दलितहरु शक्ति र सत्ता परिवर्तनको भर्याङ्गमात्र बनेर बस्न सक्दैन। हामी आफ्नो अधिकारको लागि संगठित भएर लाग्छौं;’ दलित अगुवाहरुले भने।
मन्दिर, इनार, कलमा हामीले विभेद झेल्दै आयौं, अव हाम्रा सन्तानले विद्यालयमा विभेद खेप्नु परिरहेको सरोज सदायले सुनाए। उनले भने, ‘मैले इनारमा आफ्नो मर्जिले पानी भर्न पाइँन, मेरा प्रसाद मन्दिरमा अरुले नै चढाई दिए। मैले जातीय विभेद सहँदै आएको छु। तर, अव हाम्रा नानीहरुले विद्यालमा विभेद सहनु पर्ने अवस्था आयो अव चुप लागेर बस्ने धैर्यता सकियो।’
उनले सिरहाको औरही ४ का एक आधारभुत विद्यालयमा दलित बलिकाले खेप्नुपरेको विभेद सुनाउँदै त्यस्ता शिक्षकहरुलाई कार्वाही गर्नु पर्ने बताए। उनले दलितहरु अव आफै शिक्षित, संगठित भएर आफ्नो मुक्तिको मशाल उठाउन जरुरी भईसकेको बताए।
सुखिपुरका सविता महराले जातकै कारण हामीले विभेद भोग्नु परेको बताए। उनले यो कुनै वैज्ञानिक कारण होइन निश्चित जातिय समुदायले आफ्नो शत्ता टिकाउन गरेको जातिय विभाजनको एउटा रुप हो अव सम्पूर्ण समुदायले यो कुरा बुझेर छुवाछुत जस्तो विभेदको अन्त्य गर्नु पर्छ।
कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदशको पूर्व मन्त्री सुरेश कुमार मण्डलले जातिको आधारमा गरिने छुवाछुत समाज विकासको बाधक भएको बताए। उनले यो समस्या जवसम्म समाजबाट अन्त्य हुँदैन त्यसवेलासम्म समाज विकासको गतिमा अगाडी बढ्न नसक्ने बताए।
उनले मधेशी समाजमाबाट दहेज, मृत्यु भोज, जातिय छुवाछुत जस्ता कुसंस्कारले अन्त्यको लागि सम्पूर्ण समुदाय एक हुनु पर्ने बताए। उनले मैजुदा कानुनको उचित कार्यान्वन र समाजिक रुपमा सचेतना जरुरी रहेको पनि औंल्याए।
कार्यक्रममा पूर्व सांसद असर्फि सदा, विष्णुपुर गाउँपलिकाका अध्यक्ष सत्यनारायण यादव, कर्जन्हा नगरपालिकाका उपमेयर लक्ष्मी श्रेष्ठ, दलित अगुवा शिवकुमार महरा, उमेश बराललागयतले छुवाछुत जस्तो कुप्रथा जरैबाट उन्मुलन गर्न सामाजिक, राजनीतिक र प्रशासनिक रुपले लाग्नु पर्नेमा जोड दिए।




















