रामएलवाल राम
दोहा- मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै कतारमा बसोबास गर्ने नेपाली नागरिकलाई साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल यात्रा गर्नुअघि आवश्यक भिसा प्रक्रिया पूरा गर्न दोहास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ।
दूतावासले शनिबार जारी गरेको विशेष सूचनामा कतारमा वैध आवासीय अनुमति (कतार आईडी) भएका र साउदी अरेबियाको विमानस्थल प्रयोग गरी नेपाल जान चाहने नेपाली नागरिकहरूले अनिवार्य रूपमा साउदी पर्यटक भिसा आवेदन दिनुपर्ने उल्लेख गरिएको छ।
उक्त भिसा आवेदन दोहास्थित ताशीर साउदी भिसा सेवा केन्द्र मार्फत दिन सकिने दूतावासले जनाएको छ। सो सेवा केन्द्र अल घराफा स्थित एजदान मल (Ezdan Mall) मा रहेको छ। आवेदन दिनुअघि अनलाइनमार्फत समय लिएर (अपोइन्टमेन्ट बुक गरी) प्रक्रिया पूरा गर्नुपर्ने दूतावासले स्पष्ट पारेको छ।
दूतावासका अनुसार हालको क्षेत्रीय अवस्थाका कारण साउदी अरेबियाका विमानस्थल हुँदै यात्रा गर्दा सम्बन्धित भिसा आवश्यक पर्ने भएकाले यात्रुहरूले यात्रा अघि आवश्यक कागजी प्रक्रिया मिलाउनुपर्नेछ।
थप जानकारीका लागि आवेदकहरूले ताशीर साउदी भिसा सेवा केन्द्रको फोन नम्बर 50660622 मा सम्पर्क गर्न सक्ने जनाइएको छ।

FB_IMG_1773478767722