उमेश कुमार साह

बोदे बर्साईन : सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ मा जनता समाजवादी पार्टी (जसपा) नेपालकी उम्मेदवार डा.बाबी सिंह यादवले शनिबार खडक नगरपालिकाको वडा नम्बर १० र वडा नम्बर ११ मा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेकी छन् ।

घरदैलोका क्रममा यादवले छाता छापमा मतदान गरी आफूलाई विजयी बनाउन आग्रह गरे । उनले भनिन, ‘छाता छापमा मतदान गरौँ, जनताको आवाज र पहिचानलाई बलियो बनाऔँ । म यहाँ तपाईंहरूको अधिकार, पहिचान र समृद्धिको पक्षमा काम गर्ने प्रतिबद्धता लिएर आएकी छु । हाम्रो साझा प्रयासले मात्र सप्तरी –४ को विकास सुनिश्चित गर्न सक्छ ।’

उम्मेदवार यादवले स्थानीय विकास, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना जस्ता विषयलाई प्राथमिकतामा राख्दै आफ्ना योजनाबारे मतदातालाई जानकारी गराएकी थिए । उनले जनताको आवश्यकता र आकांक्षालाई केन्द्रमा राखेर सबै वडामा समान रूपले विकासका काम अघि बढाइने बताए।

‘अब हामी एकजुट भएर मात्र समृद्धि हासिल गर्न सक्छौं,’ उनले जोड दिए ।

कार्यक्रममा सहभागी मतदाताले यादवका योजनाबारे चासो व्यक्त गर्दै प्रत्यक्ष प्रश्नसमेत सोधेका थिए । यादव महिला उम्मेदवार भएकोले विशेषगरी महिला तथा युवा वर्गले शिक्षा र रोजगारी सिर्जना सम्बन्धी स्पष्ट योजनाप्रति उत्साह देखाएको जनाइएको छ ।

घरदैलो अभियानलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण हिस्सा भन्दै यादवले प्रत्यक्ष भेटघाटबाट प्रत्येक परिवारको समस्या बुझ्न र समाधानका उपाय प्रस्तुत गर्न सहज हुने विश्वास व्यक्त गरे । ‘जनताको सहभागिता हाम्रो अभियानको मूल आधार हो,’ उनले भने ।