रामएकवाल राम
दोहा, कतार ।पाँचथर सेवा समाज कतारले एक विशेष कार्यक्रमको आयोजना गरि संस्थाको २२ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ।
शुक्रबार प्लाजा मल्लमा अवस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा समाजकी अध्यक्ष लीला राईको सभापतित्व तथा कोशी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष रुद्र शर्मा आचार्यको प्रमुख आतिथ्यता रहेको थियो।
विदेशको पसिना, स्वदेशको साकार सपना” भन्ने मुल नाराका साथ सन् २००४ मा स्थापना भएको संस्थले २१ औ वसन्त पार गरि २२ औ स्थापना दिवसको अवसरमा विविध संस्कृतिक कार्यक्रम गरि भव्य रुपमा स्थापना दिवस मनाएको हो।

कार्यक्रममा भोजपुर सेवा समाज कतारमा आबद्ध चेलीहरूले कोसेली प्रदान गरे भने किरात राई यायोक्खाका तर्फबाट साकेला सहितका नृत्य पेस गरिएको थियो । नृत्य पेस गरेका कलाकारलाई रित बमोजिम खादाले सम्मान गर्दै कोसेली प्रदान गरिएको थियो ।
विधिवत् उद्घाटन गर्दै अगाडि बढेको कार्यक्रममा सोनिसा र सीमाले स्वागत नृत्य पेस गरेका थिए । समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रबिन खत्रीले स्वागत मन्तव्य राखेको कार्यक्रमका बारेमा प्रथम उपाध्यक्ष भवानी प्रसाद ओझाले प्रकाश पारेका थिए ।समाजका सांस्कृतिक संयोजक कमल दर्नालसहित कतारमा रहेका दर्जनौं कलाकारले सांगीतिक प्रस्तुति दिएको थियो।
आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि आचार्यले कोशी प्रदेश मातहतमा रहेका जिल्ला संस्थाहरूले स्थापना दिवस र अधिवेशन बाहेक नेपालका राष्ट्रिय पर्वहरू प्रदेश मातहत नै मनाउने गरेको बताए । उनले पाँचथरमा महिलाले सफलतापूर्वक नेतृत्व सम्हालिरहेको बताउँदै सभाध्यक्ष राईको प्रशंसा गरे । उनले स्थापना दिवस ऐतिहासिक रूपमा सम्मान गरेकोमा आयोजकलाई बधाई समेत दिए ।

कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक संघसंस्था, वैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधि, विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, सामाजिक अभियन्ता, कलाकार साथै मिडियाकर्मीहरू लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले समाजले २२ औ वसन्त सम्म गरेका कार्यको प्रशंसा गर्दै चेलीले समाजलाई कुशलता पूर्वक नेतृत्व गरिरहेको प्रति प्रशंसा गर्दै आफ्ना धारणा राखेका थिए । स्थापना दिवस कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिने कलाकार, सहयोगी तथा पत्रकारहरूलाई सम्मान गरिएको थियो।
संस्थाका महासचिव सुजन गुरुङले सहजीकरण गरेको कार्यक्रमलाई समापन गर्दै सभापती राईले संस्थापक अध्यक्षसहित तत् समयको समितिप्रति उच्च सम्मान व्यक्त गरिन। राईले कार्यक्रमलाई स्वर्णिम बनाउन हर तवरबाट सहयोग गर्ने सबैप्रति संस्थागत तथा व्यक्तिगत रूपमा आभार व्यक्त गरिन।




















