शियाराम यादव,माघ-२५
सिरहा कारागारभित्र हतियार र गोली बरामद भएको घटनाले नेपालको कारागार सुरक्षा व्यवस्थामा ठुलो धक्का दिएको छ। जिल्ला प्रशासनले प्रमुख योजनाकार मानिएका नाइके इन्द्रजित यादवसहित १३ जना कैदीलाई तत्कालै अन्य कारागारमा स्थानान्तरण गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरे पनि, "कारागारभित्रै हतियार किन र कसरी पुग्यो?" भन्ने मूल प्रश्नको जवाफ अझै गर्भमै छ।
प्रशासनले सुरक्षा सतर्कता अपनाउँदै प्रभावशाली कैदीहरूलाई हटाए पनि अनुसन्धान अधिकारीहरू एउटा गम्भीर प्रश्नको वरिपरि घुमिरहेका छन्: के यो केवल शक्ति प्रदर्शन मात्र थियो कि कुनै ठुलो आपराधिक योजनाको तयारी?
कारागार स्रोतका अनुसार, बरामद गरिएको बन्दुक र गोलीको प्रयोग गरी कारागारभित्रै कुनै 'हाइ-प्रोफाइल' व्यक्तिलाई निसाना बनाउने वा सुरक्षाकर्मीलाई नै चुनौती दिएर सामूहिक रूपमा फरार हुने (जेल ब्रेक) योजना बुनिएको हुनसक्ने आशंका गरिएको छ। तर, आधिकारिक रूपमा यथार्थ विवरण बाहिर आउन अझै बाँकी छ।
शंकास्पद गतिविधि र हतियार फेला परेपछि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले देखाएको दृढताको यतिबेला चौतर्फी प्रशंसा भइरहेको छ। वर्षौँदेखि कारागारमा आफ्नो वर्चस्व कायम राखेका इन्द्रजित यादव जस्ता पात्रलाई स्थानान्तरण गर्नु चुनौतीपूर्ण मानिन्थ्यो।
"प्रजिअ पौडेलको यो कदमले कारागारभित्रको बेथिति अन्त्य गर्ने संकेत दिएको छ। तर, हतियार भित्र्याउने 'भित्री सेटिङ' को पर्दाफास नभएसम्म यो खतरा पूर्ण रूपमा टरेको मान्न सकिँदैन।




















