काठमाडौ । तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालले आज (आइतबार) बलियो प्रतिद्वन्द्वी इंग्ल्यान्डको सामना गर्दै प्रतियोगिताको शुरूआत गर्ने भएको छ । नेपाल र दुईपटकको विश्वविजेता इंग्ल्याण्डबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा साँझ सवा ३ बजेदेखि शुरू हुनेछ । सन् २०१० मा पहिलोपटक टी–२० विश्वकपको उपाधि जितेको इंग्ल्यान्डले सन् २०२२ मा दोस्रोपटक उपाधि जितेको थियो ।
सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको नेपालले त्यसको १० वर्षपछि सन् २०२४ मा नेपालले दोस्रोपटक टी–२० विश्वकप खेलेको थियो । यसपटक नेपाली टोली एसिया–प्रशान्त क्षेत्रको छनोट प्रतियोगितामा पहिलो हुँदै विश्वकपमा स्थान पक्का गरेको हो ।
नेपालले आफ्नो दोस्रो खेल फेब्रुअरी १२ तारिखमा इटालीसँग खेल्नेछ । नेपाल र इटालीबीचको खेल पनि मुम्बईको वानखेडे स्टेडियममै दिउँसो सवा ३ बजे शुरू हुनेछ । इटाली युरोपेली क्षेत्रको छनोट प्रतियोगितामा अब्बल प्रदर्शन गर्दै विश्वकपमा छनोट भएको हो ।
यसैगरी, नेपालले आफ्नो तेस्रो खेल फेब्रुअरी १५ तारिखमा बलियो प्रतिद्वन्द्वी वेस्ट इन्डिजसँग खेल्नेछ । नेपाल र वेस्ट इन्डिजबीचको खेल पनि मुम्बईको वानखेडे स्टेडियममै बिहान सवा ११ बजे शुरू हुनेछ । वेस्ट इन्डिज पनि टी–२० विश्वकपको दुईपटकको विजेता हो । सन् २०१२ मा पहिलोपटक उपाधि जितेको क्यारेबियन टोलीले सन् २०१६ मा दोस्रोपटक उपाधि चुमेको थियो ।
समूहगत चरणको अन्तिम खेल नेपालले फेब्रुअरी १७ तारिखमा स्कटल्यान्डसँग खेल्नेछ । नेपाल र स्कटल्यान्डबीचको खेल पनि मुम्बईको वानखेड स्टेडियममै साँझ सवा ७ बजे शुरू हुनेछ ।
विश्वकपमा नेपाल रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रिँदै छ । सन् २०२४ को विश्वकपमा पनि रोहितले नै टोलीको कप्तानी गरेका थिए । नेपाली टोलीमा उप–कप्तानको भूमिकामा दीपेन्द्रसिंह ऐरी छन् ।
विश्वकप शुरू हुनुअघि नेपाली टोलीले दुईवटा अभ्यास खेल खेलेको थियो । दुवै अभ्यास खेलमा विजयी भएपछि नेपाली टोली उच्च मनोबलसहित विश्वकप यात्रामा होमिएको छ ।
आईसीसी टी–२० विश्वकपको १०औं संस्करण शनिबारदेखि शुरू भएको हो । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपका खेलहरू यी दुई राष्ट्रका विभिन्न शहरमा खेलाइने छ ।
प्रतियोगिता मार्च ८ तारिखसम्म चल्नेछ । विश्वकपको १०औं संस्करणमा २० टोलीले सहभागिता जनाएका छन् । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल समूह सीमा छ । नेपाल रहेको समूहमा नेपालसहित इंग्ल्याण्ड, इटाली, स्कटल्यान्ड र वेस्ट इन्डिज छन् । समूह ‘ए’ मा भारत, नामिबिया, नेदरल्यान्ड्स, पाकिस्तान र अमेरिका छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, आयरल्यान्ड, ओमान, श्रीलंका र जिम्बाब्वे रहेका छन् ।
समूह ‘डी’ मा भने अफगानिस्तान, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । समूहगत चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई–दुई टोली प्रतियोगिताको ‘सुपर–८’ चरणमा प्रवेश गर्नेछन् । समूहगत चरणको खेल फेब्रुअरी २० तारिखसम्म चल्नेछ ।
‘सुपर–८’ चरणमा पुगेका टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ । त्यसपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । ‘सुपर–८’ चरण मार्च १ तारिखसम्म चल्नेछ । पहिलो सेमिफाइनल खेल मार्च ४ र दोस्रो सेमिफाइनल खेल मार्च ५ मा हुनेछ । सेमिफाइनलमा विजयी दुई टोलीबीच मार्च ८ तारिखमा फाइनल खेल हुनेछ । यो विश्वकपमा कुल ५५ खेल हुनेछ ।




















