शियाराम यादव ,माघ-२१

सिरहा निर्वाचन क्षेत्र नम्बर–१ का स्वतन्त्र उम्मेदवार दुर्गा प्रसाद महतोले देशको राजनीतिक अस्थिरता र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको पीडालाई प्रमुख चुनावी एजेन्डा बनाउँदै चुनावी मैदानमा उत्रिएका छन्।

महतोका अनुसार नेपाल धर्म, राजतन्त्र, राणा शासन, प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुगे पनि स्थायी राजनीतिक स्थिरता हासिल गर्न असफल भएको छ। पटक–पटक भएका जनआन्दोलनले व्यवस्था परिवर्तन गरे पनि आमनागरिकको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको उनको भनाइ छ।

“सबैले देश बनाउँछु भन्ने सपना देखाए, तर जनता अझै गरिबी र वैदेशिक रोजगारीमा निर्भर छन्,” उनले भने।

उनका अनुसार सीमा क्षेत्रमा बसोबास गर्ने अधिकांश नेपाली परिवार रोजगारीका लागि भारत तथा तेस्रो मुलुकमा जान बाध्य छन्। पूर्वदेखि पश्चिमसम्म भारतसँग जोडिएका सीमावर्ती क्षेत्रमा राज्यको उपेक्षा कायमै रहेको उनले आरोप लगाए।

सीमा सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्दै आएका नागरिकको जग्गाको मूल्य अत्यन्त न्यून हुनु, बैंक तथा वित्तीय संस्थाबाट सहज ऋण नपाउनु र आधारभूत सेवाको अभाव हुनु गम्भीर समस्या भएको महतोले बताए।

“शहरमा एक आनाको जग्गा करोडौँमा बिक्दा सीमावर्ती क्षेत्रको जमिन सिंहदरबार आसपासको जग्गाभन्दा सस्तो हुनु राज्यको असमान नीतिको परिणाम हो,” उनले प्रश्न गरे।

सीमा क्षेत्रका नागरिक र उनीहरूको जमिनको उचित मूल्य सुनिश्चित गर्दै आर्थिक अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै महतोले सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गरे।

“अब सीमामा बस्ने नेपालीले पनि आफ्नो जग्गा करोडमा बेच्न सक्ने सपना साकार गर्न हामी सबै मिलेर लाग्नुपर्छ,” उनले बताए।