सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशमा ‘घर फिर्ती अभियान’लाई जोड दिएको छ। जसपाले चार महिनाअघि अभियान सुरु गरेको थियो। प्रतिनिधि सभाको चुनाव नजिकिएसँगै अभियानमा जोड दिएको हो।
यहि अभियानअन्तर्गत मंगलबार नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य दिलकुमारी चौधरीसहितका नेता तथा कार्यकर्तालाई जसपाले स्वागत गरेको छ। सप्तरी–३ मा चुनावी छलफल र भेटघाटलाई तीव्रता दिइरहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।
जसपा नेपाल विभाजन हुँदा उनी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी थिइन्। थारु कल्याणकारी सभाकी केन्द्रीय सदस्य समेत रहेकी उनी नेपाल आदिवासी जनजाति महासंघको मधेस प्रदेशकी उपाध्यक्ष हुन्। यसअघि सोमबार गोपालप्रसाद चौधरीसमेत नेता जसपा नेपालमा प्रवेश गरेको जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र साहले बताए।
उनका अनुसार, युवा नेता शिवशंकर यादव ‘शिवम’ पनि जसपा नेपालमा जोडिएका छन्। उनी जसपा नेपाल विभाजन हुँदा अशोक राई नेतृत्वको जसपामा लागेका थिए।




















