शियाराम यादव ,माघ-१७

जनता समाजवादी पार्टी नेपालले सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेदवार सत्यनारायण यादवलाई विजयी बनाउने लक्ष्यसहित संगठनात्मक संरचना थप मजबुत बनाएको छ। यसैक्रममा पार्टीले चुनावी अभियानलाई प्रभावकारी र व्यवस्थित रूपमा अगाडि बढाउन विभिन्न पाँच समिति गठन गरेको छ।

पार्टीका अनुसार निर्वाचन परिचालन समिति बेचन प्रसाद यादवको संयोजकत्वमा ६५१ सदस्यीय गठन गरिएको छ। यो समितिले क्षेत्रभर चुनावी गतिविधि सञ्चालन, कार्यकर्ता परिचालन तथा मतदाता समन्वयको मुख्य जिम्मेवारी लिनेछ। साथै निर्वाचन परिचालन समिति सचिवालय ११ सदस्यीय गठन गरी दैनिक अभियान व्यवस्थापन र समन्वयको काममा खटाइने जनाइएको छ।

यस्तै, प्रचार–प्रसार समिति राकेश गुप्ता रोशनको संयोजकत्वमा १५ सदस्यीय गठन गरिएको छ। यस समितिले प्रचार सामग्री उत्पादन, जनसम्पर्क, सामाजिक सञ्जाल तथा सार्वजनिक कार्यक्रममार्फत पार्टीका एजेन्डा मतदातासमक्ष पुर्‍याउने जिम्मेवारी लिनेछ।

आर्थिक पारदर्शिता र स्रोत व्यवस्थापनका लागि श्याम गुप्ताको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति गठन गरिएको छ भने अभियानको अनुगमन, मूल्यांकन तथा अनुशासन कायम गर्न राकेश झाको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति चयन गरिएको छ।

पार्टी नेतृत्वका अनुसार गठन गरिएका सबै समितिहरूले समन्वयात्मक ढंगले काम गर्दै चुनावी अभियानलाई परिणाममुखी बनाउनेछन्। सिरहा–१ मा देखिएको राजनीतिक चहलपहल र संगठनात्मक विस्तारले चुनावी प्रतिस्पर्धा थप चर्किँदै गएको संकेत देखिएको छ।