रामएकवाल राम
काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आसन्न प्रतिनिधिसभा सदस्य २०८२को निर्वाचनमा सप्तरी -३ पुगेका छन।
चुनावैपिच्छे क्षेत्र परिवर्तन गर्दै आएका अध्यक्ष यादवले सप्तरी–३ मा उम्मेदवारी दर्ता गराएसँगै प्रचारप्रसार पनि सुरु गरिसकेका छन।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ र सुनसरी दुवै क्षेत्रबाट विजयी भएका यादवले पछि मोरङ छाडेर सुनसरी कायम गरेका थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यादव मोरङ र सुनसरीबाट उम्मेदवार बनेका थिए। उनी मोरङबाट भने पराजित भए पनि सुनसरी -५ बाट विजयी भएका थिए।
त्यसतै २०७४ को चुनावमा सप्तरी–२ बाट जितेका उनी २०७९ मा त्यही क्षेत्रबाट पराजित भएका थिए। त्यसपछि बारा–२ मा भएको उपनिर्वाचनबाट चुनाव जितेर संसद पुगेका थिए।
यस्तो छ विगतको सप्तरी - ३ मा चुनावको परिणाम
मधेश आन्दोलनको मुख्य कमान्डर समेत रहेका अध्यक्ष यादवले उम्मेदवारी दर्ता गराएका सप्तरी -३ मा विगतको चुनाव परिणामलाई हेर्दा खेरी २०६४ सालको पहिलो संविधानसभा चुनावमा तत्कालीन मधेशी जनअधिकार फोरमबाट रेनु कुमारी यादवले चुनाव जितेकी थिइन् भने २०७० सालको दोस्रो संविधान सभा चुनावमा रेनु पराजित भएकी थिइन् । त्यहाँ एमालेका ताराकान्त चौधरीले चुनाव जितेका थिए ।
तर अध्यक्ष यादवले त्यो क्षेत्र रोजेर के रेड जोनमा पर्ने त होइन भन्ने धेरैको चासो देखिन्छ । तर, त्यहाँ विगतको प्रतिनिधि सभाको रेकर्डभन्दा पनि स्थानीय तहको नतिजाको आधारले उपेन्द्र यादवलाई बलियो देखिन्छ ।
सप्तरी-३ मा रुपनी गाउँपालिका, राजगढ गाउँपालिका, डाक्नेश्वरी नगरपालिका, शम्भुनाथ नगरपालिका र विष्णुपुर गाउँपालिका पर्छन् । २०७९ सालको स्थानीय तहको निर्वाचनमा ती पाँचवटै स्थानीय तहको कुल ४१ वडामध्ये सबैभन्दा बढी १४ वटा वडामा वडाध्यक्ष जसपाले नै जितेको छ । लोसपा समेत जसपामा एकीकृत भएको हुनाले लोसपाको मत जोडिँदा जसपा त्यहाँ पालिका स्तरमा बलियो देखिन्छ । ४१ वडा मध्ये कांग्रेसले १२ वटा, एमालेले ७ वटा र नेपाली कम्युनिस्ट पार्टीले ८ वटा वडामा वडाध्यक्ष जितेका छन् । दुई पालिकामा जसपाले नेतृत्व गरिरहेका छन् भने २ पालिकामा एमालेले र एउटा पालिकामा नेपाली कम्युनिस्ट पार्टीले नेतृत्व गरिरहेका छन् ।
यस्तो छ पालिकाको अवस्था
जसपाको सबैभन्दा बलियो संगठन रुपनी गाउँपालिकामा छ । त्यस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै साविकको लोसपा नेपालले जितेको थियो । अध्यक्ष र उपाध्यक्ष दुवै पदमा निकटतम प्रतिद्वन्द्वी जसपा नेपाल नै थियो ।
लोसपा नेपाल हाल जसपामा एकीकरण भइसकेको छ । उक्त पालिकामा रहेका ६ वडामध्ये ३ वडामा हाल जसपाकै वडाध्यक्ष छन् भने २ वडामा साविकको माओवादी र १ वडामा कांग्रेसका वडाध्यक्ष छन् ।
रुपनी गाउँपालिकामा लोसपा नेपालबाट दिनेशकुमार यादव अध्यक्षमा निर्वाचित छन् । उनले ४ हजार २६९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका हरेराम यादवले ३ हजार ९३५ मत ल्याएका थिए । अहिले ती दुवै पार्टीबीच एकीकरण भएको हुनाले त्यहाँ जसपाको मत ८ हजार २०४ हुन्छ । त्यसैगरी, उपाध्यक्षमा पनि लोसपाकी पुष्पाकुमारी श्रेष्ठ लौगी निर्वाचित छन् । उनको निकटतम प्रतिद्वन्द्वी जसपाकै बेचनी कुमारी सरदार थिइन् ।
वडा नम्बर१ मा लोसपाका लीला यादव वडाध्यक्षमा निर्वाचित छन् भने जसपाकै लालबहादुर महतो निकटतम प्रतिद्वन्द्वी थिए । वडा नम्बर २ मा नेकपामा माओवादी केन्द्रका सरोजकुमार यादव निर्वाचित छन् भने एमालेका शिवकुमार मण्डल निकटतम प्रतिद्वन्द्वी थिए । त्यस वडामा लोसपा तेस्रो र जसपा चौथो थियो ।
वडा नम्बर ३ मा कांग्रेसका अमर मुखिया वडाध्यक्ष छन् भने जसपाका सरयुगप्रसाद साह निकटतम प्रतिद्वन्द्वी थिए । वडा नम्बर ४ मा माओवादीका छेदी ईश्वर वडाध्यक्ष छन् भने जसपाका तेजनारायण यादव निकटतम प्रतिद्वन्दी थिए । लोसपाका दिनेशप्रसाद यादव तेस्रो स्थानमा थिए ।
वडा नम्बर ५ मा जसपाका गंगाराम यादव वडाध्यक्ष छन् भने कांग्रेसका लक्ष्मणप्रसाद यादव निकटतम प्रतिद्वन्द्वी थिए । वडा नम्बर ६ मा जसपाका बद्रीनारायण सरदार वडाध्यक्ष छन् भने कांग्रेसकी प्रभाकुमारी पुलामी निकटतम प्रतिद्वन्द्वी थिए ।
त्यसैगरी, शम्भुनाथ नगरपालिकामा नगर प्रमुख साविकको नेकपा एसका जितेन्द्रप्रसाद गुप्ता कलवार र उपप्रमुखमा अनिताकुमारी चौधरी छन् । प्रमुख र उपप्रमुख दुवै पदमा त्यहाँ निकटतम प्रतिद्वन्द्वी भने कांग्रेसकै थिए । जसपाका उम्मेदवार त्यहाँ तेस्रो स्थानमा थिए ।
त्यस नगरपालिकाको १२ वडामध्ये नेकपा एसले ५, कांग्रेसले ५ र जसपाले २ वटा वडा जितेका छन् । वडा १,२,३,५ र ६ कांग्रेसले जितेका छन् ।
वडा ४,८, ९, ११ र १२ एसले जितेका छन् । वडा नम्बर ७ जसपा र १० लोसपाले जितेका छन् । ५ वटा वडामा जसपा, ४ वटा वडामा एस (हाल नेकपा),२ वटा वडामा कांग्रेस र १ वडामा एमाले निकटतम प्रतिद्वन्द्वी थिए ।




















