उमेश साह
सप्तरी ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बोदे बर्साईनको पार्टी कार्यालयको औपचारिक उद्घाटन गरिएको छ। पार्टी संगठनलाई स्थानीय तहमा थप सुदृढ, व्यवस्थित तथा जनमुखी बनाउने उद्देश्यका साथ कार्यालय स्थापना गरिएको हो।
उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी सप्तरीका संगठन प्रमुख शिव कुमार यादवको प्रमुख अतिथि तथा पार्टीका नेता तथा सप्तरी क्षेत्र नम्बर ४ का उम्मेदवार सिताराम साहको विशेष उपस्थिति रहेको थियो। विशिष्ट अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको आयोजक पक्षले जनाएको छ।
बोदे बर्साईन नगरपालिका -५ स्थित शत्रुधन चौक नजिकै मंगलबार दिनको २:०० बजे सम्पन्न कार्यक्रममा पार्टीका क्षेत्रीय ,स्थानीय, प्रदेश तथा केन्द्रस्तरीय नेता, कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले राजनीतिक शुद्धता, जवाफदेहिता र जनताको आवाजलाई केन्द्रमा राखेर रास्वपा अघि बढिरहेको बताएका थिए।
पार्टीका युवा नेता तथा सप्तरी क्षेत्र नम्बर ४ (खा) का संयोजक सुरेन्द्र प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा उध्घोसक पार्टीका नेता अनिरुद्द प्रसाद साहले गरेका थिए।पार्टीले उक्त कार्यालयमार्फत स्थानीय समस्या, विकासका आवश्यकता तथा जनसरोकारका विषयमा निरन्तर छलफल र पहल गर्दै संगठन विस्तारलाई थप तीव्र बनाउने जनाएको छ। उद्घाटन कार्यक्रम शान्त, अनुशासित र भव्य रूपमा सम्पन्न भएको आयोजक समितिले जानकारी दिएको छ।




















