शियाराम यादव ,माघ -०४

नेपाल कराते महासंघ तथा मधेश खेलकुद परिषद् (Madhesh Sports Council) को आयोजनामा सम्पन्न लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ को आज अन्तिम दिन भव्य रूपमा समापन गरिएको छ।

प्रदेशभरका विभिन्न जिल्लाबाट सहभागी खेलाडीहरूको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाएको आयोजकले जनाएको छ। प्रतियोगिताले मधेश प्रदेशमा कराते खेलको विकास तथा नयाँ खेलाडी उत्पादनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतियोगिताको नतिजाअनुसार सिरहा जिल्ला टिमले ७ स्वर्ण र ४ रजत पदकसहित प्रथम स्थान हासिल गरेको छ। लहान आयोजक टिमले ७ स्वर्ण र २ रजत पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ भने सर्लाही जिल्ला टिमले ३ स्वर्ण र २ रजत पदकसहित तेस्रो स्थान हासिल गरेको छ।

समापन कार्यक्रम जिसस सिरहाका प्रमुख दिनेश कुमार महतोको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री माननीय राजकुमार गुप्ता प्रमुख अतिथि, नेपाल कराते महासंघका केन्द्रीय अध्यक्ष युवराज लामा, तथा लहान नगर प्रमुख महेश चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रम सम्पन्न गर्न लहान नगरपालिकाले सहयोग गरेको आयोजकले जनाएको छ।