रामएकवाल राम
दोहा , कतार । नेपाल मगर संघ कतारले माघ्या सकराटी” (माघे संक्रान्ति) पर्व मनाइने भएको छ।
मगरहरुको राष्ट्रिय चाड माघ्या सकराटी विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि(मगर मिनाम ल्हेस् ५०१९) २०२६ को अवसरमा वनभोज तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको संघका अध्यक्ष समीर थापा मगरले जानकारी दिए ।
आगामी शुक्रवार डिपिएस मोनार्क इन्टरनेसनल स्कुलको सभा हलमा मनाउने तयारी भइरहेको र कार्यक्रमका लागी नेपालबाट आमन्त्रित अतिथि कलाकार चर्चित लोक तथा दोहोरी गायिका प्रीति आले, दोहोरी गायक अमर रोका मगर र पुरन राजकोटी मगर उद्घोषकका रूपमा कतार आउन लागेका हुन।
मगर समुदायको मौलिक पहिचान,भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको यस कार्यक्रममा अतिथि कलाकारहरूको साथमा  नेपाल मगर सांस्कृतिक परिवारमा आबद्ध रहेका कलाकारहरूको मौलिक नृत्य प्रस्तुतिहरू रहनेछन।
साथै मगर समुदायका विभिन्न सांस्कृतिक झाँकी,सालै जो, कौराह, सोरठी, झ्याउरे, हुर्रा, भुम्या तथा मगरहरूको परम्परागत भेष भूषाको प्रस्तुति समेत रहने सङ्घले जनाएको छ।
शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ कतारमा आबद्ध   रहेका विभिन्न मातृ संस्थाहरूले जातियता झल्काउने सामूहिक नृत्य,सगैं जनजाति बिचको सम्बन्धलाई थप सुमधुर प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन् ।
कार्यक्रममा सहभागी हुन चाहने दर्शक तथा टिकट होल्डरहरूको लागी कतारका विभिन्न स्थानहरूबाट निःशुल्क यातायातको समेत व्यवस्थापन गरिएको संघले जनाएको छ ।