रामएकवाल राम
दोहा कतार । कतारस्थित नेपाली राजदूतावासले अनौपचारिक विप्रेषण तथा गैरकानूनी वित्तीय कारोबारमा संलग्न नहुन कतार र इरानमा रहेका नेपाली समुदायलाई आग्रह गरेको छ ।
दूतावासले आइतबार जारी गरेको सूचनामा नेपाल सरकारको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नीतिगत व्यवस्था अनुसार विदेशमा रही अनौपचारिक रूपमा विप्रेषणको काम/कारोबार गर्ने वा सङ्कलित रकम नेपाल नपठाउने कार्य गैरकानूनी भएको उल्लेख गरिएको छ ।
यस्ता गतिविधिसम्बन्धी ‘गोप्य’ सूचना अर्थ मन्त्रालय वा सम्बन्धित निकायमा परराष्ट्र मन्त्रालयमार्फत विद्युतीय माध्यमबाट प्रतिवेदन गर्नुपर्ने नीतिगत व्यवस्था रहेको पनि सूचनामा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा कतार र इरानमा रहेका नेपाली नागरिकलाई कुनै पनि प्रकारका अवैध वित्तीय गतिविधिमा संलग्न नहुन अनुरोध गरिएको छ ।
यस्ता गैरकानूनी कारोबारमा संलग्न व्यक्ति वा समूहबारे जानकारी भएमा प्रमाणसहित यथाशीघ्र राजदूतावासले तोकेका फोन नम्बर वा इमेल ठेगानामा सूचना दिन आग्रह गरिएको छ ।

















