भैरहवा - चितवनबाट स्थलमार्ग हुँदै भैरहवा ल्याइएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीले बुधबार साँझ कतारका लागि उडान भरेका छन् । पहिला खगेन्द्रप्रसाद र पछि रुद्रकलीलाई बोइङ ७७७ मा लोड गरी कतारका लागि उडाइएको हो ।
चितवनको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा जन्मिएका यी हात्ती कतारको अलखोर पार्कको वातानुकूलित चिडियाघरमा लगिएको हो । दुवै हात्तीलाई सयपत्रीको माला र अबिर लगाएर विशेष कार्यक्रम गरी भैरहवाबाट बिदाइ गरिएको थियो । बुधबार साँझ साढे ५ बजे हात्ती लिएर कतार एयरवेजको कार्गो विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो ।
नेपाल सरकारका तर्फबाट कतारलाई उपहारस्वरूप ६ वर्षको भाले हात्ती खगेन्द्रप्रसाद र ७ वर्षकै पोथी हात्ती रुद्रकली पठाइएको हो।२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने बाचा गरेको थियो।




















