नेपाल बाट कतार उडे दुई हात्ती
भैरहवा - चितवनबाट स्थलमार्ग हुँदै भैरहवा ल्याइएका दुई हात्ती खगेन्द्रप्रसाद र रुद्रकलीले बुधबार साँझ कतारका लागि उडान भरेका छन् । पहिला खगेन्द्रप्रसाद र पछि रुद्रकलीलाई बोइङ ७७७ मा लोड गरी कतारका लागि उडाइएको हो ।
चितवनको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा जन्मिएका यी हात्ती कतारको अलखोर पार्कको वातानुकूलित चिडियाघरमा लगिएको हो । दुवै हात्तीलाई सयपत्रीको माला र अबिर लगाएर विशेष कार्यक्रम गरी भैरहवाबाट बिदाइ गरिएको थियो । बुधबार साँझ साढे ५ बजे हात्ती लिएर कतार एयरवेजको कार्गो विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो ।
नेपाल सरकारका तर्फबाट कतारलाई उपहारस्वरूप ६ वर्षको भाले हात्ती खगेन्द्रप्रसाद र ७ वर्षकै पोथी हात्ती रुद्रकली पठाइएको हो।२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने बाचा गरेको थियो।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्