शियाराम यादव मंसिर- २६

 “हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी” नारासहित सञ्चालन गरिएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम सिरहामा भव्य रूपमा सम्पन्न भएको छ।शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था तथा विद्यालय प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गर्नुभएको थियो।कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो रहनुभएको थियो भने विशिष्ट अतिथि सिरहा नगरपालिकाका मेयर नवीन यादव, साथै विभिन्न सुरक्षा निकायका प्रमुखहरूको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रममा अपराध नियन्त्रण, सामाजिक जागरण, विद्यालय–समुदाय समन्वय, स्थानीय तहसँगको सहकार्य, महिला–बालबालिकाको सुरक्षा तथा सामुदायिक सतर्कतासम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो।

नेपाल प्रहरीका प्रतिनिधिहरूले समुदायसँगको सहकार्य नै सुरक्षित समाज निर्माणको आधार भएको उल्लेख गर्दै, यस्तो साझेदारीले आपसी विश्वास, संवाद र सूचनाको प्रवाहलाई थप सहज बनाउने विश्वास व्यक्त गरे।स्थानीय तह, प्रहरी तथा सामाजिक संस्थाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउँदै सुरक्षित र शान्तिपूर्ण समाज निर्माणमा संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।