दोहा  - कतार र साउदी अरबबीच यात्रु आवागमनका लागि उच्च–गतिको विद्युतीय रेल परियोजना अघि बढ्ने भएको छ।

कतारको यातायात मन्त्रालयका अनुसार, यो परियोजना दुवै देशबीचको सहकार्य, दिगो विकास र क्षेत्रीय समृद्धि प्रवर्द्धन गर्ने रणनीतिक कदम हो।झण्डै ७८५ किलोमिटर लामो रेलमार्गले कतारको दोहा र साउदी अरबको रियाधलाई जोड्नेछ। रेल अल–होफुफ र दम्माम हुँदै गुड्नेछ भने हमाद अन्तर्राष्ट्रिय विमानस्थल र किङ सलमान अन्तर्राष्ट्रिय विमानस्थललाई पनि जोड्नेछ।

प्रति घन्टा ३०० किलोमिटरभन्दा बढी गतिमा सञ्चालन हुने यो रेलले दोहा–रियाध यात्रा समय मात्र दुई घण्टामा सीमित गर्नेछपरियोजनाबाट वार्षिक १ करोडभन्दा बढी यात्रु लाभान्वित हुने अपेक्षा गरिएको छ भने ३० हजारभन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुने जनाइएको छ।

रेल परियोजनाले दुवै देशको कुल गार्हस्थ उत्पादनमा करिब ११५ अर्ब रियाल योगदान पुर्‍याउने अनुमान गरिएको छ।परियोजना सम्पन्न हुन छ वर्ष लाग्नेछ र यसले कार्बन उत्सर्जन घटाउँदै वातावरणमैत्री तथा दिगो यातायात प्रणाली प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।