शियाराम यादव , मंसिर-१९
लहान मनाकामना स्कुलमा चौबिस वर्षसम्म निरन्तर शिक्षण सेवामा समर्पित रही योगदान पुर्याएकी शिक्षिका अम्बिका देवी यादव आजदेखि औपचारिक रूपमा अवकाश हुनु भएको छ। विद्यालय, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति र भावनात्मक वातावरणबीच उहाँलाई सम्मानपूर्वक बिदाइ गरिएको हो।
बिदाइ समारोहका प्रमुख वक्ता तथा विद्यालयका प्रधानाध्यापक बद्री नारायण चौधरीले शिक्षिका यादवलाई रु. १ लाख ५ हजार सहित विशेष सम्मान प्रदान गर्दै उहाँको योगदानले विद्यालयलाई अझ सुदृढ र प्रेरणादायी बनाएको उल्लेख गरे। साथै, निजी विद्यालय क्षेत्रमा लहान नगरपालिकामा सम्मानको नयाँ परम्परा शुरु भएको बताउँदै आगामी दिनमा पनि यस्तो सकारात्मक संस्कृतिलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।
लहान मनाकामना स्कुल क्षेत्रकै एउटा उत्कृष्ट र अनुशासित शैक्षिक संस्थाका रूपमा पहिचान बनाउँदै आएको छ। अनुभवी शिक्षक, प्रभावकारी सिकाइ वातावरण र विद्यार्थीमैत्री व्यवस्थापनका कारण यस विद्यालयले वर्षौंदेखि उत्कृष्ट नतिजा कायम गर्दै आएको छ। यिनै उपलब्धिहरूमा शिक्षिका अम्बिका देवी यादवको भूमिका महत्वपूर्ण रहेको विद्यालय परिवारले सराहना गरेको छ।दीर्घ शिक्षण सेवामा विद्यार्थीहरूको शैक्षिक उन्नति, चरित्र निर्माण र अनुशासनको संस्कार विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै विद्यालय समुदायले उहाँलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी जीवनका लागि शुभकामना दिएको छ।




















