धरान । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा आवश्यक संशोधन नगरीकन देश नयाँ राजनीतिक दिशामा अघि बढ्न नसक्ने बताएका छन् ।

सुनसरीको धरानमा बुधबारदेखि सुरु भएको जनता समाजवादी पार्टी, नेपालको दुईदिने प्रदेशस्तरीय प्रशिक्षक, प्रशिक्षण तालिम कार्यक्रमको अवसरमा आज यहाँ पत्रकारहरुसँगको अन्तरक्रियामा अध्यक्ष यादवले वर्तमान प्रदेश संरचना प्रभावकारी नभएकोे उल्लेख गर्दै पहिचानमा आधारित प्रादेशिक संरचना र निर्वाचन प्रणाली सुधार अब अपरिहार्य बनेको धारणा राखे ।

आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्ने धारणा राख्दै अध्यक्ष यादवले लोकतन्त्रलाई सुदृढ बनाउन भयमुक्त वातावरण र सुरक्षाको प्रत्याभूति राज्यले सुनिश्चित गर्नुपर्ने बताए ।

सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै चुनावी प्रक्रियालाई अविलम्ब अगाडि बढाउन सबै राजनीतिक दल एकजुट हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष यादवले संसद् पुनःस्थापना भए पनि दिगो राजनीतिक समाधान खोज्न आवश्यक रहेको बताए ।

“जेनजी आन्दोलनपछि उठाइएका मागहरू अझै सम्बोधन हुन सकेका छैनन्, जसका कारण राजनीतिक स्थायित्व पनि कमजोर बनेको छ”, उनले भने ।   उनले राष्ट्रिय सुविधा सेवा तथा राज्यका अङ्गमा सबै समुदायको समानुपातिक पहुँच सुनिश्चित हुनु अहिलेको प्रमुख आवश्यकता भएको बताए ।