शियाराम यादव ,मंसिर-१३

मिति २०८२ मंसिर १३ गते जनता समाजवादी पार्टी नेपाल, सिरहा क्षेत्र नम्बर १ द्वारा संगठन विस्तार, निर्वाचन अभियान सुदृढीकरण तथा पार्टीको नीति–रणनीति अभिवृद्धि सम्बन्धी विशेष बैठक लहानस्थित कुशवाहा धर्मशालामा सम्पन्न भयो। बैठकमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीको संरचना मजबुत बनाउने, मतदाता अभिमुखी कार्यक्रम सञ्चालन गर्ने र वि‍कल्प राजनीतिक शक्तिका रूपमा जसपाको भूमिका प्रभावकारी बनाउन योजना बनाइएको थियो।

कार्यक्रमका प्रमुख अतिथी सिरहा क्षेत्र नं. १(ख) का प्रदेश सांसद राजु गुप्ता रहेका थिए। सो अवसरमा प्रदेश सभा सदस्य ललिता विद्रो, जसपा केन्द्र सदस्य सत्य नारायण यादव, जसपा जिल्ला समिति अध्यक्ष अशोक यादव, जसपा लहान नगर अध्यक्ष रामउदगार महतो, जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो, जसपा नेता परियाग लाल यादव, दिपेश यादव, नागेन्द्र यादव लगायत वडा समितिका अध्यक्षहरू, प्रदेश तथा केन्द्र सदस्यहरू, विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकले पार्टीको संगठनलाई वडा तहदेखि प्रदेश तहसम्म सुदृढ बनाउँदै युवा, महिला र समुदायमा आधारित मतदाता समूहलाई सक्षम रूपमा जोड्ने योजना पारित गरेको बताइएको छ। साथै, निर्वाचन अभियान अन्तर्गत घर–घरमा पार्टीको मूल सोच, सामाजिक न्याय, समानता र समावेशी लोकतन्त्रको विचारलाई जनस्तरमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

बैठकमा सहभागी नेता तथा कार्यकर्ताहरूले जसपालाई राष्ट्रिय राजनीतिको शक्तिशाली विकल्पका रूपमा स्थापित गर्न एकीकृत रणनीतिका साथ अघि बढ्ने सहमति व्यक्त गरे। पार्टीलाई आणखी सशक्त, जनमुखी र मतदातामैत्री बनाउन सबैलाई आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो।