रामएकवाल राम

कतार , दोहा । गैरअवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनसीसी कतार र क्युएसटी कतार बीच एउटा ऐतिहासिक सीप विकास सम्बन्धि  सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार संघ कतारद्वारा आयोजित Career Development & Training  कार्यक्रममा उल्लेखनीय सहभागिहरु बिच एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थी र क्युएस्टीकी मेनेजिङ डाइरेक्टर यसमिन नाजले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

कार्यक्रममा सहभागी भएकाहरु लाई कसरी प्रभावशाली बायोडाटा बनाउने, कुनै कामको लागि अन्तर्वार्तामा सहभागी हुँदा कसरी प्रस्तुत हुने र आफु काम गर्न जाने ठाउँको लागि हुनुपर्ने साधारण ज्ञान सम्बन्धि नि:शुल्क प्रेरणामुलक तालिम सङ्गै उनीहरुको सहजताका लागि स्न्याक्स ब्रेकको समेत व्यवस्था गरिएको थियो ।

प्रशिक्षकद्वयी उमेश महरा, गोपाल बस्यालले रोजगारी, सीप विकास तथा व्यक्तिगत प्रगतिको क्षेत्रमा प्रत्यक्ष प्रयोग हुने ज्ञान र मार्गदर्शन प्रदान गरे भने सहभागीहरू लाई आगामी यात्रामा अझ सक्षम, आत्म विश्वासी र प्रतिस्पर्धी बनाउन सकिने विश्वास व्यक्त गर्दै एनसीसी कतारले दुवै प्रशिक्षक प्रति विशेष कृतज्ञता प्रकट गरेको थियो ।

एनसीसी कतार र क्युएस्टी ट्रेडिङ एण्ड कन्सलटेन्सी कतार बिच भएको ऐतिहासिक सहकार्य सम्झौता पत्र अनुसार कतारमा रहेका नेपाली श्रमिक, पेशागत व्यक्ति तथा विद्यार्थीहरूका लागि धेरै निःशुल्क र छुट सहितका तालिमहरू प्रदान गरिने कुरा उल्लेख गरिएको छ । जसले नेपाली समुदायको सीप, योग्यता र अवसरलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

सम्झौता पत्रमा उल्लेख भए अनुसार प्रमाणपत्र सहित नि:शुल्क तालिमहरुमा २० जनालाई IOSH सुरक्षित रूपमा व्यवस्थापन (स्वास्थ्य र सुरक्षा), २० जनालाई खाद्य सुरक्षा HACCP लेवल दुई, १० जनालाई खाद्य सुरक्षा HACCP लेवल तिन, पाँच जनालाई हाईफिल्ड अप्रोभेट ट्रेन द ट्रेनर र वर्षभर तीन चरणमा ५० जना नेपाली सहभागीहरुका लागि निःशुल्क माइक्रो सफ्ट अफिस र डकुमेन्ट कन्ट्रोलर सम्बन्धि कम्प्युटर तालिमको कोर्स समावेश रहनेछन् ।

त्यस्तै त्रैमासिक निःशुल्क अवारनेस सिजनहरु दुवै संस्थाले प्रत्येक तीन महिनामा एकपटक समुदाय कल्याण, सामाजिक सचेतना, स्वास्थ्य तथा सुरक्षा र Heat Stress Awareness को साथै गर्मीको मौसममा श्रमिकहितमा लक्षित विशेष Heat Stress Awareness Campaign पनि निःशुल्क रूपमा सञ्चालन गरिनेछ भने छुटसहित प्रदान गरिने अतिरिक्त तालिमहरूमा HABC हाईफिल्ड इन्टरनेशनल युकेका सबै कोर्समा ५० प्रतिशत, OTHM UK योग्यताहरूमा १५ देखि २० प्रतिशत र PAQ UK योग्यताहरूमा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ ।