रामएकवाल राम
दोहा :- राष्ट्रपति रामचन्द्र पौडेल कतार आउने भएको छ। कतारका अमिर शेख तामिम बिन हमाद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल कार्तिक तेस्रो साता कतार भ्रमणमा आउन लागेका हुन।
संयुक्त राष्ट्रसंघ अन्तर्गतको इकोनोमिक एन्ड सोसल काउन्सिल (इकोसोक) ले १८–२० कार्तिकमा आयोजना गर्न लागेको दोस्रो ‘सामाजिक विकास सम्मेलनमा सहभागी हुन रास्ट्रपति पौडेल कतार आउने भएका हुन।
अघिल्लो वर्ष नेपाल भ्रमणमा आउँदा कतारका अमिर अल थानीले राष्ट्रपति पौडेललाई आफ्नो मुलुक भ्रमणको निम्तो दिएका थिए।आयोजक राष्ट्रका हैसियतमा अमिर अल थानीले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई निमन्त्रणा पठाएकाले उतिबेला उनलाई नेपाल निम्त्याएका राष्ट्रपति पौडेलको सहभागिता उपयुक्त ठानिएको हो। 
संयुक्त राष्ट्रसंघका अनुसार, महासभाको प्रस्ताव संख्या ७८।२६१ र  ७८।३१८ मार्फत् ‘सामाजिक विकासका लागि दोस्रो विश्व सम्मेलन’ शीर्षकअन्तर्गत ‘विश्व सामाजिक सम्मेलन’ आयोजना गर्ने निर्णय गरिएको हो।
विश्वव्यापी रूपमा बढ्दो आर्थिक असमानता, तीव्र जनसांख्यिक परिवर्तन, प्रविधिको तीव्र रूपान्तरणका कारण सामाजिक प्रगतिका लागि नयाँ प्रतिबद्धताको आवश्यकता सम्मेलन आयोजना गरिनुको अर्का कारण हो। 
सन् १९९५ को पहिलो सम्मेलनका ‘१० प्रतिबद्धता’ र ‘कोपेनहेगन घोषणा’ का आधारमा यसपटकको दोस्रो सम्मेलनले गरिबी उन्मूलन, पूर्ण रोजगार र सम्मानजनक कामको प्रवर्द्धन तथा सामाजिक समावेशीकरण कार्यलाई तीव्र बनाउनेछ राष्ट्रसंघको वेबसाइटमा भनिएको छ।
सम्मेलनले सामाजिक विकासमा रहेका दीर्घकालीन अन्तरविरोधहरू सम्बोधन गर्ने, सामाजिक विकासप्रतिको विश्वव्यापी प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने र सन् २०३० मा सम्पन्न गर्ने लक्ष्य राखिएको दिगो विकास एजेन्डाको कार्यान्वयनमा नयाँ गति प्रदान गर्ने लक्ष्य लिएको छ।