शियाराम यादव ,असोज -०२
जेन-जी आन्दोलनको क्रममा सहादत प्राप्त गरेका लहान नगरपालिका–१५ का विजय चौधरीको परिवारलाई लहान नगरकार्यपालिकाले विशेष राहत प्रदान गर्ने निर्णय गरेको छ।
नगर प्रमुख महेश चौधरीले आज पत्रकार सम्मेलन गर्दै नगरपालिकाले चौधरीको परिवारलाई तत्कालका लागि १ लाख रुपैयाँ राहतस्वरूप दिने घोषणा गर्नुभयो। साथै, चौधरीका बालबालिकालाई कक्षा १२ सम्म नि:शुल्क शिक्षा प्राप्त गर्न नगरपालिकाले सहयोग गर्ने र उहाँकी पत्नीलाई योग्यता अनुसार नगरपालिकामै जागिर दिने निर्णय गरिएको जानकारी दिनुभयो।
नगर प्रमुख चौधरीले सहिदको बलिदानलाई नगरपालिकाले कदर गर्ने उल्लेख गर्दै पीडित परिवारलाई सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।




















