रौतहट - रौतहटको माधवनारायण नगरपालिका २ मुडबलवाकी रुबीकुमारी साहको शव फाल्न लगिएको रिक्साका चालकलाई प्रहरीले पक्राउ गरेको छ। सुटकेसमा प्याक गरेको अवस्थामा साहको शव शनिबार राति मुडलवा गेटनजिक सडकमै फेला परेको थियो।
तर अनुसन्धानका क्रममा उक्त शव फाल्नका लागि रिक्सा भाडामा लिएको र रिक्सा बिग्रिएपछि आरोपित सडकमै शव फालेर फरार भएको देखिएको अनुसन्धानमा संलग्न रौतहट प्रहरी अधिकारीले बताएका छन्।
शव फाल्न भाडामा दिएका ई–रिक्साका चालक गौरका लक्ष्मण महरा प्रहरी नियन्त्रणमा छन्। उनले आफूले के सामान हो भन्ने जानकारी नभएको तर बीच बाटोमै रिक्सा बिग्रिएपछि आफूलाई फर्काइदिएको उनले प्रहरीलाई बताएका छन्।
उनले प्रहरीले बताएअनुसार आरोपितले गंगा पिप्रासम्म ५ सय रुपैयाँमा रिक्सा भाडामा लिएका थिए। बाटोमै रिक्सा बिग्रिएपछि सुटकेस छाडेर उनीहरू फरार भएको खुलेको छ।
हत्यामा संलग्नको पहिचान भइसकेको रौतहट प्रहरीको दाबी छ।अहिले अनुसन्धान भइरहेको छ। छिट्टै घटनाका सम्बन्धमा सबै कुरा बाहिर ल्याउँछौँ’, प्रहरी अधिकारीले नेपालखबरसँग भने, ‘शंकित व्यक्ति रुबीसँग लामो समयदेखि सम्पर्कमै रहेको देखिन्छ।’
ती व्यक्ति वैदेशिक रोजगारीबाट फर्किएको र उनले विदेशबाट फर्किँदा ल्याएकै सुटकेस रुबीको शव फाल्न प्रयोग गरेको तथ्य प्रहरीले पत्ता लगाएको छ।
‘हामी अनुसन्धानको निस्कर्षतिर पुगेका छौँ। अनुसन्धानका सबै पाटो पोजेटिभ छन्। यति भनेपछि बुझ्नुस्, हामी छिटै सबै कुरा सार्वजनिक गर्ने अवस्थामा छौँ’, अनुसन्धान अधिकारीले भने।
२६ वर्षकी रुबीलाई त्यस साँझ बोलाएर हत्या गरेको अनुसन्धान अधिकृतको दाबी छ। शनिबार साँझ केही सामान लिन जान्छु भन्दै गौर गएकी छोरी नफर्किएको उनकी आमा मिथिलादेवीले बताएकी छन्।




















