काठमाडौं  -  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले भूमि विधेयकको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ । भूमि सम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको, भू-माफिया, जग्गा दलालको हित हुने र यसबाट वन जंगल विनाश भई तराई/मधेश मरुभूमिकरण हुने जसपा नेपालको भनाइ छ ।

सरकारले ल्याउन लागेको भूमि सम्बन्धी विधेयकको जसपा नेपाल शुरूदेखि नै विपक्षमा रही विरोध गर्दागर्दै पनि संसद्‌को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट यही भदौ ५ गते विधेयकको प्रक्रिया अगाडि बढाएको भन्दै जसपाले असन्तुष्टि जनाएको छ ।

जसपा नेपालका महासचिव लालबाबु राउतका अनुसार विरोध प्रदर्शन यही भदौ ९ गतेदेखि १५ गतेसम्म हुनेछ । जसपा नेपालको केन्द्रीय सचिवालय बैठकले वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र पर्यावरणको संरक्षण गर्न, तराई/मधेशलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जंगल र भूमिको रक्षा गर्न ‘भूमि र वन बचाऊँ, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाऊँ’ अभियान अन्तर्गत भूमि विधेयकविरुद्ध कडा प्रतिकार गर्ने र विरोधमा उत्रिने निर्णय गरेको राउतले बताएका छन् । 

उनले शनिबार एक परिपत्र जारी गर्दै देशका विभिन्न शहरमा व्यापक विरोध प्रदर्शन गर्न जसपा नेपाल सम्बद्ध सम्पूर्ण समितिहरू एवं पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।