शियाराम यादव ,भदौ -४

सिरहाको बिष्णुपुर गाउँपालिका–५, लक्ष्मिपुरमा अन्तरजातीय प्रेम सम्बन्धका कारण दुई परिवारबीच विवाद तीव्र बनेको छ।घटनामा घुस्का सदाकी १७ वर्षीया छोरी रन्जु सदा र सोही गाउँका करिब २० वर्षका धिरज महतोबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ। केही दिनअघि उनीहरू घरबाट भागेर करिब १५ दिनसम्म संगै बसेका थिए। आफन्तहरूले खोजी गरी घर फर्काएपछि केटा पक्षले ‘उमेर नपुगेको’ र ‘सानी जातिको’ भन्दै सम्बन्धलाई अस्वीकार गरेको थियो।

विवाद प्रहरी चौकीसम्म पुगेपछि पञ्चायत बसेको थियो। कानुनी रूपमा उमेर नपुगेको कारण प्रहरीले दुबैलाई आफ्ना–आफ्ना अभिभावकको जिम्मामा दिएको थियो। तर, केटी पक्षले "मेरो छोरीको इज्जत गयो, अब बिहे गर्नै पर्छ" भन्दै अडान लिएको थियो।

यसपछि पुनः सहमति भएर केटा पक्ष विवाहका लागि राजी भएको बताइन्छ। तर रन्जु सदालाई केटाको घर लगेपछि, केटा पक्षकै केही व्यक्तिले धिरज महतोमाथि दबाब सिर्जना गर्दै बाहिर लगे र रन्जु सदामाथि निर्घात कुटपिट गरी घरको अगाडि फालिदिएको आरोप लागेको छ।घटनापछि सदा (पासवान) समुदाय आक्रोशित बनेको छ भने गाउँमा तनावपूर्ण अवस्था उत्पन्न भएको छ। अहिले घटनाबारे बिष्णुपुर प्रहरी चौकी मौन रहेको भन्दै पीडित पक्षले असन्तुष्टि व्यक्त गरेका छन्।

पीडित पक्षका अनुसार रन्जु सदा सानी जातको भएकै कारण केटा पक्षले विवाह अस्वीकार गरेको र त्यसैको आधारमा उनीमाथि कुटपिट गरिएको हो। समुदायले यसलाई जातीय विभेदको स्पष्ट उदाहरण भन्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।नेपालको संविधान र विद्यमान कानुनले जातीय विभेदलाई अपराधको रूपमा लिएको छ। मुलुकी अपराध संहिता २०७४ अनुसार कुनै पनि व्यक्तिमाथि जात, समुदाय वा सामाजिक वर्गका आधारमा गरिएको भेदभाव, दुर्व्यवहार वा कुटपिटलाई संज्ञेय अपराध मानिन्छ। साथै, विवाहका लागि केटीको उमेर कम भएकाले यस प्रकरणले बालविवाहसम्बन्धी कानुन उल्लङ्घन गरेको संकेत पनि देखिन्छ।

स्थानीयवासीले यस घटनाले समाजमा अझै पनि जातीय सोच गहिरो रूपमा रहेको प्रस्ट पारेको भन्दै प्रहरी प्रशासनलाई तत्काल छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन्।