शियाराम यादव
लहान - गौर हत्या काण्डसम्बन्धमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवमाथि दायर गरिएको षड्यन्त्रपूर्ण मुद्दाको विरोधमा सोमबार साँझ लहानको सहिद पार्कमा जसपा नेपालले सांकेतिक आन्दोलन आयोजना गरेको छ।
आन्दोलनलाई सफल पार्न जसपा नेपाल नगर अध्यक्ष रामउदरगार महतोको नेतृत्वमा सम्पूर्ण नेता, कार्यकर्ता तथा समर्थकलाई उपस्थिति जनाउन आह्वान गरिएको थियो। कार्यक्रम साँझ ७:१५ बजे सुरु भएको हो।सांकेतिक आन्दोलनमा सहभागीहरूले अध्यक्ष यादवमाथि लगाइएको आरोप राजनीतिक षड्यन्त्रबाहेक अरू केही नभएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्।
साथै, राज्यले गरेको विभेदकारी व्यवहार, उत्पीडन र अन्यायपूर्ण कदमको कडा विरोध गर्दै समान अधिकार र न्याय सुनिश्चितताका लागि निरन्तर संघर्ष गर्ने चेतावनी पनि दिएका छन्।कार्यक्रममा जसपा नेता माननीय राजु गुप्ता, माननीय ललिता विद्रोही, जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतोलगायतका नेता–कार्यकर्ता तथा स्थानीय नागरिकहरूको बाक्लो उपस्थिति रहेको थियो।




















