जनकपुरधाम । जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित भएका छन् ।आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ लगायतका नारा लेखिएको प्लेकार्ड सहित पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि बिहान ११ बजेदेखि धर्ना बसेका हुन् ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा पत्रकारहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमै धर्ना बसेका हुन गुठी संस्थानबाट महासंघले कानुनी प्रक्रिया पूरा गरि लिजमा लिएको ४ कठ्ठा जग्गा गत साउन २७ गते संरक्षण गर्ने क्रममा नेपाल बार एसोसिएसन जनकपुरका पदाधिकारीसहित वकिलहरूले पत्रकारमाथि आक्रमण गरेका थिए ।

सो क्रममा महासंघ प्रदेश अध्यक्ष बञ्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर राय र अनिल निराला घाइते भएका थिए ।

घटनामा संलग्न पाँच जना वकिलविरुद्ध साउन २८ गते नै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइए पनि हालसम्म पक्राउ गरेका छैनन् ।शनिबार पत्रकार महासंघ धनुषा शाखामा बसेको पत्रकार भेलाले प्रहरी प्रशासनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो ।