राजविराज -  सप्तरी युथ नेपालले मैथिली गायक सन्नु कुमार सहित पाँच वटा विधामा पाँच जनालाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार आयोजना गरिएको पाँचौं जिल्ला युवा सम्मेलनमा उनीहरुलाई सम्मान गरिएको हो ।

मैथिली गित सङ्गितको क्षेत्रमा विगत लामो समय देखि अतुलनीय योगदान पुर्‍याएको भन्दै गायक सन्नु कुमारलाई सम्मान गरिएको छ भने आ–आफ्नो क्षेत्रमा प्रशंसनीय कार्य गरेको भन्दै प्रशासनतर्फ प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पत्रकारितातर्फ विद्यानन्द राम, खेलाडीतर्फ महिला क्रिकेटर साक्षी यादव र व्यापारीतर्फ जयकुमार सोनीलाई सम्मान गरिएको युथका उपाध्यक्ष मोहन यादवले जानकारी दिए ।

युथका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा आयोजना गरिएको सम्मेलनमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उनीहरुलाई सम्मान–पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन।