पर्सा - पर्साका दलित सामाजिक अभियन्ता शिक्षक मनोज राम काठमाडौंमा सोमवार सम्मानित भएका छन् ।सखुवाप्रसौनी गाउँपालिकामा बस्ने दलित तथा सीमान्तकृत समुदायको सेवामा अनवरत् लागेका रामलाई काठमाडौंमा अनलाइन खबरले सम्मानित गरेको हो ।
नेपालभरिबाट अनलाइन खबरले ४० वर्षमुनिका ४० जनालाई सम्मानित गरेकामा पर्साका दलित सामाजिक अभियन्ता राम पनि छनोटमा परेका हुन् । सामाजिक सेवामा समर्पित, दलित, विपन्न, सीमान्तकृत समुदायको लागि विगत लामो समयदेखि काम गरिरहेका ४० उमेर ननाघेका ४० जना व्यक्तिलाई अनलाइन खबरले छनोट गरेको थियो ।
४० जना व्यक्तिको जीवन कथा पनि प्रकाशित गरिएको छ । ४० जना युवामध्ये रामलाई पनि आज अनलाइन खबरले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित गरेका हुन् ।
पर्साका राम विगत डेढ दशकभन्दा बढी समयदेखि जिल्ला, मधेस प्रदेश र देशकै विभिन्न जिल्लामा दलित, विपन्न, सीमान्तकृत समुदायको लागि सामाजिक कार्य गर्दै आएका छन् । उनले दलित समुदायको लागि सामाजिक न्याय, सशक्तीकरण, समानता, शिक्षा, आर्थिक सहयोग, बिरामी उपचारमा सहयोग, खानेपानीमा सहयोग, घर निर्माण, विपन्नको लागि योगदान गर्दै आएका छन् ।
अहिले रामको नेतृत्वमा पिस फर दलित्स फाउन्डेशन नेपालले पर्सा जिल्लाका चार स्थानमा दलित समुदायका एक हजार बालबालिकाको लागि विगत सात वर्षदेखि निश्शुल्क ट्युशन कक्षा तथा सिकाइ सुधार केन्द्र सञ्चालन गराउँदै आएका छन् । रामको सहयोगमा अहिलेसम्म दुई हजार बालबालिकालाई कापी, कलम वितरण गरिएको छ भने चालू आवमा पाँच हजार बालबालिकाको लागि कापी, कलम तथा शैक्षिक सामग्रीहरू वितरण गर्ने योजनामा काम गरिरहेका छन् ।




















