लहान - नेपाल पत्रकार महासंघ सिराहा शाखा अध्यक्ष मनोज बनैता यादव नेकपा एमालेका लहान नगर अध्यक्षलाई कानुनी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी गरेका छन।शाखा अध्यक्ष यादवले जिल्ला प्रहरी कार्यालयमा एमाले लहान नगर अध्यक्ष राजकुमार साहलाई आवश्यक कानुनी कारबाहीको माग गर्दै बिहीबार उजुरी दिएका हुन।
उजुरीमा अध्यक्ष साहले १७ असारमा सामाजिक सञ्जाल (फेसबुक) बाट अश्लील, तुच्छ, अपमानजनक गालीगलौज गरी आफ्नो चरित्र हत्या गरेकाले कानुनी कारबाहीको माग गरिएको छ।
विगतमा पनि पटकपटक पत्रकारहरूलाई सामाजिक सञ्जालमार्फत नगर अध्यक्षको नाममा तुच्छ र गैरराजनीतिक तल्लो स्तरको टिप्पणी गर्दै आएका साहलाई यसपटक प्रहरीले कानुनी कारबाहीको दायरामा ल्याउनेमा आफू विश्वस्त रहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले महासंघका शाखा अध्यक्षको उजुरी प्रहरीमा परेको जानकारी दिँदै प्रहरीले बुझ्ने काम गरिरहेको बताए ।




















