काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष फेर्नुपर्ने अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको छ।
पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले शनिबार एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश तथा जिल्ला भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधव नेपाल संकटमा परेकाले अर्ली महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेकी थिइन्।
यसविरुद्ध अहिले एकीकृत समाजवादीका पार्टी संस्थापन पक्षधर नेता-कार्यकर्ताले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन्। यसै क्रममा पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका पूर्वअध्यक्ष सुदेश पराजुलीले झाँक्रीको अभिव्यक्तिलाई ‘विक्षिप्त मानसिकताको पराकाष्ठा’को संज्ञा दिएका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘लुम्बिनीतिर एउटा विक्षिप्त मानसिकताको पराकाष्ठा छरपस्ट भएछ। हिजोदेखि यो मानसिकता कहिले लुकेर, कहिले हो कि होइन कि जस्तो गरेर, कहिले कुनै नेतालाई भ्रममा परेर, कहिले सामाजिक दुनियाँलाई प्रयोग गरेर, कहिले नक्कली स्टन्टबाजी गरेर उदय भएको हो।
कहिले पदका निम्ति जस्तोसुकै सम्झौता गरेर प्राप्ति, कहिले पद सत्ता हस्तान्तरण गर्नुपर्दा रुवाबासी यो मानसिकताको विशेष गुण हो।यस्तै एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य दिलु पन्तले पनि झाँक्रीको अभिव्यक्तिलाई स्टन्टको संज्ञा दिएकी छन्।




















